रसुवा बाढीमा १,३५६ शव फेला, ४,९९४ जना अझै सम्पर्कविहीन

by समतल अनलाइन
46Shares

काठमाडौं – रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३५६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढीपछि ४ हजार ९९४ जना अझै सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ।

हालसम्म ९८ वटा शवको सनाखत भई परिवारलाई बुझाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। सनाखत हुन बाँकी शवको डीएनए परीक्षण गर्नुपर्ने भएकाले सम्बन्धित परिवारले जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सक्ने उहाँले बताउनुभयो।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। प्रवक्ता महतका अनुसार सम्पर्कविहीन हुनेको सङ्ख्या सबैभन्दा बढी नुवाकोटमा २ हजार ३४० रहेको छ भने रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार रसुवामा १ हजार ९६७ जना सम्पर्कविहीन छन्।

सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६७६ जनाले उपचार सेवा लिएका छन्।

विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्नुका साथै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका छन्।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरू खोजी, उद्धार, उपचार तथा राहत व्यवस्थापनमा निरन्तर सक्रिय रहेका छन्।

You may also like