बाढीपहिरो प्रभावितका लागि कांग्रेसले दियो एक करोड

by समतल अनलाइन
47Shares

बुटवल । रसुवा, नुवाकोटलगायतका जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीलाई एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो। चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।

केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीपहिरोका कारण धेरै परिवार विस्थापित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।

विपद्मा परेका नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सरकारको उद्धार कोषमा रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए।

रकम हस्तान्तरण गर्दै पौडेलले विपद्को समयमा नेपाली कांग्रेस बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको बताए। उनले प्रभावित क्षेत्रमा उद्धार र राहतलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

विशेषगरी बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति पौडेलले चिन्ता व्यक्त गरे। उनले उद्धार कार्यमा देखिएको ढिलासुस्ती तत्काल अन्त्य गरी फसेका नागरिकको उद्धारलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ छ। साथै राहत वितरणमा पारदर्शिता कायम गर्न र आगामी दिनको विपद् व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन पनि उनले सरकारलाई आग्रह गरेका छन्।

बेपत्ताको खोजी, प्रभावितको उद्धार, विस्थापितको पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको पौडेलले बताए।

कांग्रेसले यसअघि पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै आएको जनाएको छ। सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव दिने, आवश्यक दबाब सिर्जना गर्ने र विपद् व्यवस्थापनबारे ध्यानाकर्षण गराउने काम भइरहेको कांग्रेसले जनाएको छ। सभापति थापाले प्रभावित क्षेत्रको स्थलगत अवलोकनसमेत दुईपटक गरिसकेको पार्टीको भनाइ छ।

You may also like