बुटवल उद्योग वाणिज्य संघको अधिवेशन तयारी तीव्र, १० समिति गठन

by समतल अनलाइन
38Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी असोज २१ देखि २३ गतेसम्म आयोजना गर्न लागेको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनको तयारी तीव्र बनाएको छ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १० वटा तयारी समिति गठन गर्दै कार्यसमिति सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। संघका महासचिव मुक्तिप्रसाद अधिकारीका अनुसार तयारीका विभिन्न पक्ष हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको छ।

प्रस्ताव लेखनको जिम्मेवारी कृष्णप्रसाद पाण्डे, किटव्याग व्यवस्थापन तथा रजिष्ट्रेसनको जिम्मेवारी गणेशप्रसाद भट्टराई, सदस्यता मत सर्वेक्षण विष्णु घिमिरे पन्त (कमला), स्वागत तथा सत्कार रेनु श्रेष्ठ, खाना तथा जलपान व्यवस्थापन रामबहादुर भण्डारी, निमन्त्रणा कार्ड व्यवस्थापन दीपक चापागाईं, हल तथा मञ्च व्यवस्थापन उमेश अमात्य र पार्किङ व्यवस्थापनको जिम्मेवारी टिकाराम वञ्जाडेलाई दिइएको छ।

त्यसैगरी संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठलाई संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मूल्यांकनको जिम्मेवारी दिइएको छ भने पूर्वअध्यक्ष खिमबहादुर हमाललाई उत्कृष्ट उद्योगी–व्यवसायी मूल्यांकन संयोजक तोकिएको छ।

बैठकले अधिवेशनका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ। निर्वाचन अधिकृतमा अधिवक्ता माधव घिमिरे र अधिवक्ता गोविन्द मरासिनीलाई नियुक्त गरिएको छ।

बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समितिमा मनोनयन भएका संघका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको छ। स्वास्थ्य समितिमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, सहरी विकास समितिमा महासचिव मुक्तिप्रसाद अधिकारी र महिला उद्यमी समितिमा कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे मनोनयन भएका छन्। त्यस्तै नेपाल–भारत व्यापार मण्डलको सचिवमा कार्यसमिति सदस्य दीपक घिमिरे मनोनित भएका छन्।

बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

बाढीमा ज्यान गुमाएकाहरूको सम्झना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार साँझ संघ परिसरमा दीप प्रज्ज्वलन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले वार्षिक साधारण सभा तथा अधिवेशनलाई सभ्य, भव्य र मर्यादित बनाउन सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रह गरे। उनले अधिवेशनलाई निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न आफ्नो तर्फबाट पनि इमान्दार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

संघका निवर्तमान अध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले संघ बलियो र गरिमामय बन्दा त्यसका सदस्यहरूको समेत गरिमा र क्षमता बढ्ने भएकाले संघको संस्थागत गरिमा थप उचाइमा पुर्‍याउने गरी काम गर्न आग्रह गरे।

बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतीक पोखरेल तथा सहकोषाध्यक्ष धनकला खनालले समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए।

You may also like