काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढ्ने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार विशेषगरी रसुवा र नुवाकोट भएर बहने भोटेकोशी, त्रिशूली तथा आसपासका साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको छ ।
महाशाखाले बिहानको मापनअनुसार भोटेकोशी र त्रिशूली नदीको बहाव हाल सतर्कता तहभन्दा तल रहे पनि बढ्दो क्रममा रहेको जनाएको छ । कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीसँगै कन्काई, कमला, बागमती, पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ ।
आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यका, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दाङ, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्लाका साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
तीन दिनको पूर्वानुमानमा अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने देखिएको छ । विशेषगरी रसुवा र नुवाकोट भएर बहने भोटेकोशी तथा त्रिशूली नदी र आसपासका साना नदीमा पानीको बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोलाको आसपासका बस्ती, सडक र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

