व्यवसायसँगै समाजसेवामा सक्रिय बुटवलका युवा गोकुल भण्डारी

by समतल अनलाइन
47Shares

बुटवल । व्यवसायिक जिम्मेवारीसँगै सामाजिक सेवामा समेत सक्रिय बुटवलका युवा गोकुल भण्डारी विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै समुदायका गतिविधिमा निरन्तर जोडिँदै आएका छन्।

लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीसँग आबद्ध भण्डारी पछिल्लो समय रसुवामा बाढी प्रभावितका लागि सञ्चालन गरिएको राहत अभियानमा सक्रिय देखिए। राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउनेदेखि वितरणमा समेत उनले प्रत्यक्ष सहयोग गरेका थिए।

बुटवलमै सञ्चालन भएका सामाजिक अभियानमा पनि उनको सहभागिता रहँदै आएको छ। ‘सफा रहोस् हाम्रो बुटवल’ अभियानअन्तर्गत बसपार्क तथा आसपासका क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा उनले अन्य स्वयंसेवकसँगै सहभागी भएर श्रमदान गरेका थिए।

त्यस्तै, लियो क्लबका संस्थापक अध्यक्ष लियो लायन मेघराज पोख्रेलको जन्मदिनको अवसरमा आयोजित रक्तदान कार्यक्रमको व्यवस्थापनमा समेत भण्डारीले सहयोग गरेका थिए। पिउने पानीका धारा उद्घाटन, शैक्षिक सामग्री वितरणलगायतका सामाजिक तथा सामुदायिक कार्यक्रममा पनि उनको सहभागिता रहँदै आएको छ।

भण्डारीको सामाजिक सक्रियता लियो क्लबमा मात्र सीमित छैन। रुद्रगण, रोट्र्याक्ट क्लब, घर–घरमा हामी लगायतका विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै उनले राहत, सरसफाइ, रक्तदान तथा अन्य सामाजिक अभियानमा सहयोग पुर्‍याउँदै आएका छन्।

व्यवसायलाई आफ्नो मुख्य जिम्मेवारीका रूपमा अघि बढाउँदै सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लैजान सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै आएका भण्डारी युवा पुस्तालाई सामाजिक काममा जोडिन प्रेरित गर्ने प्रयासमा छन्।

आगामी दिनमा पनि विभिन्न संघसंस्था र युवासँग सहकार्य गर्दै सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने उनको योजना छ।

You may also like