देशभर मनसुनी प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना

by समतल अनलाइन
36Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

You may also like