राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज सम्पन्न सचिवालय बैठकले प्राकृतिक विपत्तिमा परेका नागरिकहरूको सुरक्षित उद्धार, घाइतेहरूको उपचार र विस्थापितहरूका लागि राहत सामग्रीको वितरणलाई पारदर्शी एवं न्यायोचित बनाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बैठकले विपद् व्यवस्थापनमा राज्यको एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै यस कठिन घडीमा सरकारले सञ्चालन गरिरहेका कार्यहरूमा रास्वपाका सम्पूर्ण संरचनाहरूले निरन्तर सहयोग पुर्याउने निर्णय गरेको छ। साथै, राहत र उद्धार कार्यलाई संस्थागत रूपमा अगाडि बढाउन रास्वपासहित अन्य दलहरू समेत सम्मिलित ‘सर्वदलीय संयन्त्र’ निर्माणका लागि पार्टीले निरन्तर पहल गर्ने निर्णय समेत गरेको छ।
पार्टीको आन्तरिक गतिविधितर्फ बैठकले आर्थिक सुशासन र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई धन्यवाद ज्ञापन गरेको छ। सोही अवसरमा नवनियुक्त कोषाध्यक्ष डा. मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै नयाँ कार्यभार हस्तान्तरण गरिएको छ।
बैठकमा सभापति रवि लामिछानेले नवनियुक्त कोषाध्यक्ष प्रधानका साथै सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, पार्टी प्रवक्ता जगदीश खरेल र नवमनोनित सचिवालय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। शपथ लिने सचिवालय सदस्यहरूमा शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारी रहनुभएको प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

