भोटेकोसी बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित निःशुल्क शिक्षा

by समतल अनलाइन
21Shares

हेटौँडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित भई अभिभावक गुमाएका बालबालिकालाई आवास सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ।

बिहीबार हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित अभिभावकविहीन बालबालिकाको शिक्षा र आवासको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता भरत केसीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत बाढी प्रभावित जिल्लामा अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गरी उनीहरूलाई आवाससहित कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनेछ।

‘बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने तथ्यांक संकलन गरेर उनीहरूको शिक्षा र आवासको व्यवस्था गर्ने निर्णय भएको छ,’ प्रवक्ता केसीले भने।

यस्तै, मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय पनि गरेको छ। संशोधित कार्यविधिअनुसार विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय तहलाई नै रकम निकासा गर्ने व्यवस्था गरिने प्रवक्ता केसीले जानकारी दिए।

You may also like