बुटवल । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि रुपन्देहीको तिलोत्तमा–१ स्थित होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयले ५ लाख ८० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको हो भने विद्यालयअन्तर्गत सञ्चालित इन्टर्याक्ट क्लब अफ होराइजन जीबीएसले थप २५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ। विद्यालय र क्लबको सहयोग जोड्दा विपद् प्रभावितका लागि ५ लाख ८० हजार ५ सय ५५ रुपैयाँ उपलब्ध गराइएको हो।
भदौ १० गते आएको विनाशकारी बाढी तथा त्यसपछि उत्पन्न प्राकृतिक विपद्बाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि विद्यालयले पीडितप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो। बाढी तथा पहिरोका कारण नागरिकले ज्यान गुमाउनुका साथै धेरै परिवार विस्थापित भएको र ठूलो संख्यामा मानिसको जनजीवन प्रभावित भएको भन्दै विद्यालयले दुःख व्यक्त गरेको छ।
विद्यालयका प्राचार्य गोपाल आचार्यले विपद्को समयमा पीडितको पक्षमा उभिनु मानवीय दायित्वसँगै शैक्षिक संस्थाको सामाजिक जिम्मेवारी पनि भएको बताए। उनका अनुसार विद्यार्थीलाई कक्षाकोठाभित्रको ज्ञानमा मात्र सीमित नराखी समाजप्रतिको उत्तरदायित्व र मानवीय संवेदनासँग जोड्न आवश्यक छ।
होराइजन गौतम बुद्ध माध्यमिक विद्यालयका प्राचार्य गोपाल आचार्यले भने, विपद्को समयमा पीडित परिवारको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो। विद्यालयले विद्यार्थीलाई पढाइसँगै समाज र समुदायप्रतिको जिम्मेवारी पनि सिकाउँदै आएको छ। यही भावनाअनुसार विद्यालय परिवार र इन्टर्याक्ट क्लबमार्फत सहयोग गरिएको हो। विपद्मा परेका नागरिकको राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रको सहयोग आवश्यक छ।
विद्यालयले विपद् प्रभावितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारको प्रयाससँगै नागरिक समाज, शैक्षिक संस्था, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन दीर्घकालीन सहयोगको आवश्यकता रहेको विद्यालयको भनाइ छ। विद्यालयले विपद्को कठिन अवस्थामा पीडितको साथमा उभिन अभिभावक, विद्यार्थी, शिक्षक तथा शुभेच्छुकलाई समेत सहयोग र सहकार्यका लागि आह्वान गरेको छ।

