काठमाडौँ। कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभल मैदानमा आज भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले सानदार सुरुवात गरेको हो ।
बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्याे । नेपालका अर्जुन कुमालले सर्वाधिक ३९ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले १९, आशिफ शेखले १८ र देव खनालले १० विकेट लिए । बहराइनका इमरान जाभेद अनवरले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले ३६ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो ।
बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए । यस्तै, मोहम्मद वासिमले १३, अली दाउदले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै, ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए ।
नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।
हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकोमा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।
एसियन क्रिकेट काउन्सिल ९एसीसी० का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ ।
गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।
नेपाली टोलीमा सन्दीप लामिछाने ९कप्तान० आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

