गाउँपालिका अध्यक्ष शाही १९ घण्टासम्म बन्धक, लुकाउँदै गर्दा सशस्त्र पुगेपछि…

by समतल अनलाइन

दैलेख। दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको कब्जाबाट १९ घण्टापछि मुक्त भएका छन् ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँमा एउटा घरमा उनलाई राख्ने तयारी भएका वेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेपछि आइतबार साँझ उनी मुक्त भएका हुन् ।
शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले अपहरणकारीले एउटा घरमा लुकाउँदै गर्दा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले हवाईफायर गरेपछि अपहरणकारी शाहीलाई छाडेर भागेको जानकारी दिए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अध्यक्ष शाहीलाई प्रहरीको सम्पर्कमा ल्याइसकेको र अपहरणकारीको खोजीकार्य तीव्र पारिएको जानकारी दिए ।

शनिबार राति १२ः३० बजे ठाटीकाँध गाउँपालिका–२ स्थित श्रीपाटास्थित घरमा सुतेको अवस्थामा नेकपा कार्यकर्ताले ‘तपाईंहरूसँग विशेष कुराकानी छ’ भन्दै श्रीमती इला मल्ल शाहीलाई समेत लिएर अज्ञात स्थलतर्फ लगेका थिए ।

पत्नी इलालाई भर्ता भन्ने ठाउँमा पुर्‍याएपछि छाडिदिएका थिए । ठाटीकाँध गाउँपालिका–२ का वडाध्यक्ष रूपलाल विकले आफूहरू बिजारैचौर नजिक आइपुगेपछि शाही अपहरणमुक्त भएको खबर प्राप्त भएको जानकारी दिए ।

शाहीकी पत्नी इलाले विप्लवका कार्यकर्ताले आफूहरूको लडाइँ राज्यसत्तासँग रहेको र तपाईंहरूसँग कुनै पनि दुस्मनी नभएको भन्दै प्रशिक्षण कार्यक्रमपछि फर्काइ दिने भन्दै औषधि, कपडा समेत लैजान आग्रह गरेको बताइन् ।

दैलेख र कालिकोटको सिमानामा पर्ने भर्ताको सुकाने लेकभन्दा केही अगाडि पुगेपछि इला मल्लले चिनेका व्यक्तिहरूको पहिचान हुने भएपछि अपहरणकारीले अध्यक्ष शाहीलाई मात्र लिएर गई आफूलाई त्यहीँ छाडेको उनको भनाइ छ ।

विप्लव कार्यकर्ताले दैलेखमा गत असारमै सबै स्थानीय तहमा चन्दाका लागि पत्राचार गरेका थिए । वडाध्यक्ष, कार्यपालिका सदस्य र स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरूलाई रकम तोकेरै चन्दा माग गरिएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकारका जिम्मेवार व्यक्तिहरूलाई डाकेर चन्दाको विषयमा छलफल चलाएका थिए ।

जसमा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीले आफू गल्ती पनि नगर्ने र एक रुपैयाँ कसैलाई चन्दा पनि नतिर्ने घोषणा गरेका थिए । चन्दाको विषयमा कठोर बनेकै कारण उनको अपहरण भएको हुन सक्ने आशंका गरिएको छ ।

विप्लवद्वारा शाहीलाई नियन्त्रणमा लिएको स्वीकार
विप्लव नेतृत्वको नेकपाले ठाँटी गाउँपालिका अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको स्वीकार गरेको छ ।

आइतबार विज्ञप्ति जारी गरी नेकपाले राष्ट्रघाती, भ्रष्ट, सुदखोर, मिटरब्याजीलाई कारबाही गर्ने पार्टीको केन्द्रीय नीतिअनुसार उनलाई नियन्त्रणमा लिएको जनाएको हो । शाहीले गाउँपालिकामा भ्रष्टाचार गरेको, कमिसन खाएकाले छानबिन गर्न नियन्त्रणमा लिएको उसको भनाइ छ । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like