बुटवल । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन्।
सिद्धार्थ केबलकार लिमिटेडको शीर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. र ऊर्जा इन्टरप्राइजेज प्रा.लि.को मुख्य प्रायोजनमा ज्ञानपुन्ज इङ्लिस सेकेण्डरी स्कुल बुटवलले आयोजना गरेको प्रतियोगिताको दोस्रो चरणको पहिलो खेलमा होराइजन जीबीएस स्कुल विजयी भएको छ। जीबीएसले सरस्वती माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको हो।
शुक्रबार नै भएको दोस्रो खेलमा नयाँगाउँ माध्यमिक विद्यालयले देवदह इङ्लिस बोर्डिङ स्कुललाई २–० गोल अन्तरले पराजित गर्यो। तेस्रो खेलमा युगज्योति माध्यमिक विद्यालयले त्रिभुवन एकेडेमीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै अर्को चरणमा स्थान बनाएको छ।
शुक्रबार पाँच खेल हुने तालिका रहे पनि वर्षाका कारण तीन खेल मात्रै सम्पन्न भएको आयोजकले जनाएको छ। बाँकी दुई खेल शनिबार हुनेछन्।
शुक्रबार भएका खेलमा टेकबहादुर थापा, पदम बराल र जंगबहादुर थापा उत्कृष्ट खेलाडी घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगिता पाँचौँ दिनसम्म आइपुग्दा खेल निकै रोमाञ्चक बन्दै गएको र यसले विद्यार्थीहरूमा नयाँ ऊर्जा प्रदान गरेको आयोजक ज्ञानपुञ्ज इङ्लिस सेकेण्डरी स्कुलका प्राचार्य शंकर भण्डारीले बताए।
बुटवलको देवीनगरस्थित एन्फा रंगशालामा जारी प्रतियोगिताका दोस्रो चरणका खेल दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेका छन्।

