45
गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको उपचारका क्रममा मृत्यु भएको हो।
स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट बाँदर धपाउने क्रममा चिप्लिएर करिब २५ मिटर तल खसेकी पाण्डे गम्भीर घाइते भएकी थिइन्।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते पाण्डेको तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्याएको थियो।
गुल्मी अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

