ज्ञानपुञ्जका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकको अन्तरसंवाद

by समतल अनलाइन
60Shares

बुटवल । बुटवल–११ नहरपुरस्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीसँग वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले अन्तरसंवाद गरेका छन्। विद्यालयले सञ्चालन गर्दै आएको ‘गेष्ट अफ द मन्थ’ कार्यक्रमअन्तर्गत सोमबार डा. पाठकसँग विद्यार्थीसँग अन्तरसंवाद गरिएको हो।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीले डा. पाठकसँग उनको चिकित्सकीय यात्रादेखि सफलतासम्मका विषयमा विभिन्न जिज्ञासा राखेका थिए। विद्यार्थीले जीवनमा सफल हुन ध्यान दिनुपर्ने विषय, लक्ष्य निर्धारण गर्ने तरिका, लक्ष्य प्राप्तिका लागि आवश्यक मेहनत, अध्ययनका क्रममा आउने चुनौतीको सामना तथा आफूले चाहेको क्षेत्रमा सफल हुने उपायबारे प्रश्न गरेका थिए।

विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै डा. पाठकले सफलता एकैपटक प्राप्त नहुने भन्दै निरन्तर मेहनत, अनुशासन, धैर्य र लक्ष्यप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताए। उनले विद्यार्थी जीवनमै स्पष्ट लक्ष्य निर्धारण गरी नियमित अध्ययन र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए।

आफ्नो व्यक्तिगत अनुभवसमेत सुनाउँदै डा. पाठकले जीवनमा आउने कठिनाइ र असफलतालाई सिकाइका रूपमा लिनुपर्ने बताए। आफूले भोगेका संघर्ष र चुनौतीबाट सिक्दै अघि बढ्न सके सफलताको बाटो खुल्ने उनको भनाइ थियो। उनले जुनसुकै विषय तथा क्षेत्रमा पनि मेहनत र निरन्तर प्रयासमार्फत सफलता हासिल गर्न सकिने बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल शंकर भण्डारीले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी विभिन्न क्षेत्रका सफल व्यक्तित्वसँग प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘गेष्ट अफ द मन्थ’ कार्यक्रम सञ्चालन गरिएको बताए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो लक्ष्य पहिचान गर्न तथा भविष्यका लागि प्रेरणा लिन सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। पत्रकार विनोद परियारले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीले डा. पाठकको व्यक्तिगत अनुभव, चिकित्सकीय यात्रा र सफलताका विषयमा जिज्ञासा राखेका थिए। कार्यक्रमको सुरुवात विद्यालयका सहप्राचार्य भीम बस्नेतले गरेका थिए।

ज्ञानपुञ्जले यसअघि असार महिनामा लेखक खगेन्द्र संग्रौलालाई ‘गेष्ट अफ द मन्थ’का रूपमा आमन्त्रण गरेको थियो। पछिल्लो समय विद्यालयले विद्यार्थीको सिर्जनशीलता र व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न रचनात्मक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

You may also like