26
दाङको राप्ती गाउँपालिका–४, गोपीनालास्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेको थियो। दुर्घटनापछि कार करिब ५० मिटर घिस्रिँदै अघि बढेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा सोही स्थानका ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनियामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।

