बुटवलको तिनाउ सिँचाइ नहरमा महिलाको शव फेला

by समतल अनलाइन
33Shares

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, नरहपुरस्थित तिनाउ सिँचाइ नहरमा आइतबार एक महिलाको शव फेला परेको छ।

दिउँसो करिब १ः५० बजे बुटवल–१८ निवासी ४८ वर्षीय नन्दराम थारुले खेतमा सिँचाइ गर्ने क्रममा नहरको पानी रोक्न जाँदा शव देखेपछि तत्काल सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दाहालको नेतृत्वमा विपद् व्यवस्थापन तालिमप्राप्त ६ जनासहित १० सदस्यीय टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले दिउँसो २ः०५ बजेदेखि शवको उद्धार तथा घटनास्थलको विस्तृत निरीक्षण सुरु गरेको जनाएको छ। उक्त स्थान सुरक्षा बेस बुटवलबाट करिब चार किलोमिटर पश्चिममा पर्छ।

हालसम्म मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

You may also like