बुटवल। लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिको आयोजनामा कान्ति माध्यमिक विद्यालयको म्याथम्याटिक पार्क परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले वृक्षरोपण केवल बिरुवा रोप्ने कार्यक्रम नभई भविष्यका पुस्ताप्रतिको दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यालयमा रोपिएका बिरुवाले विद्यार्थीलाई वातावरण संरक्षणको व्यवहारिक शिक्षा दिनेछन्। हरियाली विद्यालयले सिकाइको वातावरण पनि थप आकर्षक बनाउँछ। लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले विद्यालयलाई प्राथमिकतामा राखेर गरेको सहयोग अत्यन्त प्रशंसनीय छ। आगामी दिनमा पनि शिक्षा, वातावरण र सामाजिक विकासका क्षेत्रमा यस्तै सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षा गर्दछु।”

कार्यक्रममा रिजन–६ का रिजन चेयरपर्सन तथा संस्थाका पूर्वअध्यक्ष देवबहादुर कुँवरले वातावरण संरक्षण आजको सबैभन्दा महत्वपूर्ण सामाजिक अभियान भएको उल्लेख गर्नुभयो। उहाँले लायन्स क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन तथा सामाजिक सेवाका क्षेत्रमा स्थानीय सरकार र विभिन्न संस्थासँग समन्वय गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, हरियाली र स्वस्थ वातावरण दिन्छ। त्यसैले वृक्षरोपणलाई अभियानका रूपमा अगाडि बढाउनुपर्छ। विद्यालयसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै शैक्षिक विकास, पूर्वाधार सुधार तथा आवश्यक समस्या समाधानमा क्लब सदैव प्रतिबद्ध रहनेछ। सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै समुदायसँग हातेमालो गरेर अघि बढ्नु नै लायन्सको वास्तविक सेवा हो।”
कार्यक्रमका संयोजक दिनेश घिमिरेले विद्यालय, लायन्स क्लब तथा सम्बन्धित पक्षबीच समन्वय गरी कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले वातावरण संरक्षणका यस्ता अभियानले विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवारी बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र वातावरण संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। सबै पक्षको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी बनेको उहाँको भनाइ थियो।
कार्यक्रमको समापन गर्दै लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिका अध्यक्ष डी.आर. पन्थीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय परिवार, प्रमुख अतिथि, विशिष्ट अतिथि, शिक्षक, लायन सदस्य तथा सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले क्लबले स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन र सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै स्थानीय सरकार तथा विभिन्न संघसंस्थासँग सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। साथै कान्ति माध्यमिक विद्यालयका विकास निर्माण, शैक्षिक उन्नयन तथा देखिएका समस्याको समाधानमा आवश्यक सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस्ता सेवामूलक अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष बिनोद भण्डारी, शिक्षक कृष्णप्रसाद पाण्डे, तिलकराम शर्मा, प्रकाश पोख्रेल, मोहन भट्टराई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव पुण्यप्रसाद सापकोटाले गर्नुभएको थियो।
लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिले बुटवल क्षेत्रका स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर रचनात्मक कार्य गर्दै आएको छ। स्थानीय सरकार, विद्यालय तथा विभिन्न संघसंस्थासँगको समन्वयमा समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले आगामी दिनमा पनि समाज विकासका यस्ता अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

