रुपन्देही सैनामैनामा २४ घण्टामा १५३.२ मिमि वर्षा, देशका धेरै क्षेत्रमा वर्षा जारी

by समतल अनलाइन
49Shares

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यस क्षेत्रमा १५३.२ मिलिमिटर वर्षा भएको छ ।

विभागकी मौसमविद् बिनु महर्जनले पछिल्लो २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको जानकारी दिइन् । त्यस अवधिमा मधेश प्रदेशमा भने अपेक्षाकृत कम वर्षा भएको छ ।

महर्जनका अनुसार पछिल्लो छ घण्टामा देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन । पछिल्लो समय अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

लुम्बिनी प्रदेशको पश्चिमी तराईमा २४ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ । ‘आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ’, उनले भने ।

विभागका अनुसार, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी भारी वर्षाको सम्भावना छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा पनि भारी वर्षा हुने जनाइएको छ ।

मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

You may also like