अक्सफोर्डमा कक्षा ११ का विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान

by समतल अनलाइन
46Shares

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विशेष कार्यक्रम सम्पन्न भएको छ।

कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा हिसान केन्द्रीय सदस्य एवं विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसालसहित सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले अक्सफोर्डले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको उल्लेख गर्दै विद्यार्थीहरूले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो शैक्षिक यात्रा सफल बनाउनुपर्ने बताए। विद्यालयले शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकासलाई पनि समान महत्व दिएको उनको भनाइ थियो।

प्राचार्य दिनेश भुसालले नवआगन्तुक विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत गर्दै अक्सफोर्डले आधुनिक, व्यावहारिक र नतिजामुखी शिक्षण प्रणालीमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा केन्द्रित भएर काम गरिरहेको बताए। उत्कृष्ट नतिजासँगै अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्व भएका सक्षम नागरिक उत्पादन गर्नु विद्यालयको प्रमुख लक्ष्य रहेको उनले उल्लेख गरे।

कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। प्राध्यापक सुमन भुसालका अनुसार ३.७० वा सोभन्दा माथि जीपीए प्राप्त गरेका ११ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ तथा ३.६० वा सोभन्दा माथि जीपीए प्राप्त गरेका २९ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको हो। यस्ता प्रोत्साहन कार्यक्रमले विद्यार्थीलाई थप उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा अतिथिहरूलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो। नवआगन्तुक विद्यार्थीहरूको स्वागतमा गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी तथा लोकदोहोरी गायिका रीतु थापाले सांगीतिक प्रस्तुति दिँदा विद्यार्थी र शिक्षकहरू उत्साहका साथ रमाएका थिए।

उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूबीच आत्मीयता, सहकार्य र भ्रातृत्वको भावना अझ सुदृढ भएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन विबेचना प्रसाई र श्रीसा न्यौपानेले संयुक्त रूपमा गरेका थिए भने संयोजन प्राध्यापकद्वय झविन्द्र मरासिनी र कपिल ढकालले गरेका थिए।

You may also like