अत्याधुनिक प्रविधिसहित नागढुंगा सुरुङमार्ग तयार, सुरक्षाका कडा मापदण्ड लागू

by समतल अनलाइन
17Shares

काठमाडौँ । काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम पूरा भएर साउनभित्रै सञ्चालनमा आउने तयारीमा छ। आधुनिक ‘टोल’ प्रणाली लागू गर्दै यो सुरुङमार्ग सञ्चालनको तयारी गरिएको हो।

यसका लागि नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले वाणिज्य बैंकहरूलाई आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) चिपमा आधारित प्रिपेड ट्याग वा कार्ड जारी गर्न अनुमति दिइसकेको छ। यो नेपालको यातायात र वित्तीय क्षेत्रका लागि बिलकुलै नयाँ र आधुनिक अभ्यास हो।

सुरुङमार्ग प्रयोगबापतको शुल्क नगद, डिजिटल र अटोमेसन प्रणालीबाट लिने तयारी छ। भारतमा सफल भएको फास्ट ट्यागजस्तै प्रविधि नेपालमा पहिलोपटक लागू गर्न आरएफआईडी गेटहरू जडान गरिसकिएको छ। यो प्रविधिअनुसार सवारीसाधनको अगाडिको सिसा (विन्डस्क्रिन) मा एउटा सानो चिप वा ट्याग जडान गरिनेछ, जुन सवारीधनीको प्रिपेड खातासँग जोडिएको हुन्छ। सवारीसाधन टोल गेट नजिक पुग्नासाथ त्यहाँ रहेको सेन्सर र क्यामेराले उक्त चिपलाई स्वचालित रूपमा पहिचान गरी खाताबाट तोकिएको शुल्क कटौती गर्नेछन् र गेट स्वतः खुल्नेछ। यो अटोमेसन प्रणाली नेपालका लागि नयाँ अनुभव हुनेछ।

यस आयोजनाअन्तर्गत दुईवटा सुरुङ निर्माण भएका छन्। आपत्कालीन उद्धारमा प्रयोग गर्नका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपत्कालीन सुरुङमार्ग (इभाकुएसन टनेल) र सवारीसाधन ओहोरदोहोर गर्न २ हजार ६ सय ८८ मिटर लामो तथा कुल ९.५ मिटर चौडाइ भएको तीन लेनको मुख्य सुरुङमार्ग निर्माण गरिएको छ।

You may also like