विद्यार्थीलाई सदाचार र सुशासनको पाठ, भ्रष्टाचारविरुद्ध सचेतना अभियान

by समतल अनलाइन
38Shares

बुटवल। पारदर्शी सरोकार समूह बुटवलले क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरूलाई भ्रष्टाचार न्यूनीकरण, सदाचार प्रवर्द्धन तथा सुशासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालसँग आबद्ध पारदर्शी सरोकार समूह बुटवलले आयोजना गरेको कार्यक्रममा बुटवलका विभिन्न क्याम्पसका विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रममा भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन र नैतिक आचरण विकासका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आजका विद्यार्थीहरू नै भविष्यका राष्ट्रसेवक, उद्यमी, राजनीतिज्ञ, पत्रकार तथा विभिन्न क्षेत्रका नेतृत्वकर्ता भएकाले सुशासन स्थापना गर्न उनीहरूको भूमिका महत्वपूर्ण रहने बताइन्। शिक्षण तहदेखि नै सदाचार, जिम्मेवारी र नैतिक मूल्यबारे सचेत बनाउन सके भ्रष्टाचार नियन्त्रण मात्र नभई यसको अन्त्यतर्फ समेत अघि बढ्न सकिने उनको भनाइ थियो।

उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारीको क्षेत्रबाट सुशासनका लागि योगदान गर्नुपर्ने उल्लेख गर्दै बुटवल उपमहानगरपालिकाले पनि भ्रष्टाचार न्यूनीकरण मात्र होइन, यसको निर्मूलताका लागि काम गरिरहेको बताइन्।

कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहायक न्यायाधिवक्ता बसन्तराज पोखरेलले भ्रष्टाचारको कानुनी पक्ष, यसको प्रभाव, नियन्त्रणका उपाय तथा सदाचार प्रवर्द्धनका विषयमा सहजीकरण गरेका थिए। उनले सुशासन कायम गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै नागरिक र युवापुस्ताको सचेत सहभागिता आवश्यक रहेको बताए।

पारदर्शी सरोकार समूहका अध्यक्ष लालहरि पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्यसमिति सदस्य महेन्द्रनारायण श्रेष्ठ, युवा प्रतिनिधि श्याम राना तथा विद्यार्थी प्रतिनिधिहरू अनु भण्डारी, समिर कार्की र सिर्जना केसीले पनि आफ्ना धारणा व्यक्त गरेका थिए।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रम पारदर्शी सरोकार समूहका उपाध्यक्ष दीपक ढकालको स्वागत मन्तव्य तथा सचिव सनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like