रास्वपाद्वारा संगठनात्मक संरचनामा हेरफेर: १९ पदाधिकारी, १५८ सदस्यीय केन्द्रीय समिति

by समतल अनलाइन
40Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै आफ्नो सांगठनिक संरचना विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले विधान संशोधन गर्दै पार्टीका पदाधिकारी संख्या १३ बाट बढाएर १९ पुर्‍याउने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब रास्वपाको विधानमा ‘वरिष्ठ नेता’ को पद थपिएको छ भने महामन्त्री दुई र सहमहामन्त्रीको संख्या चार पुर्‍याइएको छ। त्यसैगरी, प्रदेश समितिका सभापतिहरूलाई पदेन केन्द्रीय सदस्यको रूपमा समावेश गर्दै केन्द्रीय समितिको आकार १२९ बाट बढाएर १५८ सदस्यीय बनाइने भएको छ।

सहमहामन्त्री विपीनकुमार आचार्य नेतृत्वको समितिले तयार पारेको विधान संशोधन मस्यौदालाई पारित गर्दै रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीलाई अन्तिम रूप दिएको छ।

महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली तयार गरिदै

रास्वपा ले पहिलो महाधिवेशनका लागि सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार गर्ने प्रक्रिया सुरु गरेको छ। असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुन गइरहेको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो आज साँझसम्म लाग्ने केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले जानकारी दिएका छन्।

महाधिवेशनमा पालिका र जिल्ला तहबाट निर्वाचित प्रतिनिधिको साथै २०७९ को आम निर्वाचनमा सहभागी भएका तर निर्वाचित हुन नसकेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई समेत प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ। यसका अतिरिक्त केन्द्रीय विभाग, आयोग, सल्लाहकार, सङ्घीय नेतृत्व मञ्च, प्रदेश समिति, जिल्ला सभापति तथा विभिन्न निर्वाचन क्षेत्रका संयोजकहरू पनि प्रतिनिधि रहनेछन्।

सचिव श्रेष्ठका अनुसार, विदेशस्थित २५ देशका सम्पर्क समितिबाट संख्याको आधारमा तीनदेखि ११ जनासम्म प्रतिनिधिहरू सहभागी हुनेछन् भने सभापतिले विशेष निर्णयमार्फत २०० जना प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था पनि छ।

महाधिवेशनको पहिलो दिन असार ७ गते भरतपुरको गेस्ट हाउस मैदानमा भव्य उद्घाटन हुनेछ भने ८ र ९ गते उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन हुनेछ। महाधिवेशनले दुई चरणमा नेतृत्व चयन गर्नेछ।

पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। त्यसपछि निर्वाचित सदस्यहरूबाटै तीन जना उपसभापति, दुई जना महामन्त्री र चार जना सहमहामन्त्री चयन गरिनेछन्।

You may also like