तीन वर्षभित्र सडकका खाल्डाखुल्डी इतिहास हुन्छन् : पूर्वाधार विकासमन्त्री लम्साल

by समतल अनलाइन
46Shares

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अबको तीन वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी देख्न नपर्ने दाबी गरेका छन्। प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अब सडक मर्मत गर्ने काम पटके नभई नियमित कार्यतालिकाअनुसार अघि बढ्ने भएकाले लक्ष्य हासिल हुने स्पष्ट पारे।

सरकारले दुर्गम क्षेत्रका सबै वडा केन्द्रसम्म सडक सञ्जाल पुर्‍याउने उद्देश्यले नौ वर्षे दीर्घकालीन कार्ययोजना बनाएको जानकारी दिँदै मन्त्री लम्सालले पहिलो तीन वर्षमा ट्र्याक खोल्ने र त्यसपछि ग्राभेल तथा पिचको काम सम्पन्न गरिने बताए। यस योजनाका लागि स्थानीय तहसँग समन्वय गरेर आगामी तीन वर्षभित्र २८ अर्ब ५० करोड रुपैयाँ खर्च गरिने उनले संसदलाई जानकारी गराएका छन्।

लम्सालले ठेकेदारलाई ‘खुट्टा भाँचिदिने’ भनी दिएको विवादास्पद अभिव्यक्तिको विषयमा प्रतिनिधिसभामा स्पष्टीकरण दिए । पृथ्वी राजमार्गको मुग्लिन-मलेखु खण्ड अनुगमनका क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारलाई कारबाही गर्ने धम्की दिएका र ठेकेदार रमेश शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा डाकेका मन्त्री लम्साललाई नेकपा एमालेका सांसद ऐन महरले सदनमा कडा प्रश्न गरेका थिए। सांसद महरले कानुन हातमा लिएर मन्त्रीको हैसियतमा यस्तो आदेश दिने अधिकार छ कि छैन भन्दै प्रश्न उठाएका थिए।

जवाफमा मन्त्री लम्सालले सोझो खण्डन त गरेनन्, तर आफ्नो बचाउ गर्दै उक्त अभिव्यक्तिको उद्देश्य काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई दबाब दिई विकास निर्माणलाई गति दिनु मात्र भएको दाबी गरे। ठेक्का रद्द गर्दा देशमा काम गर्ने निर्माण कम्पनीको संख्या घट्ने र बैंक ग्यारेन्टी लगायतका विषयमा समस्या आउने तर्क गर्दै उनले भने, ‘हामी कसैलाई गाली गर्न चाहँदैनौँ, ठेकेदारले खुरुखुरु काम गरिदिए हामी चुपचाप बस्छौँ। कम्पनीलाई जोगाउँदै काम सम्पन्न गराउनका लागि मात्र दबाब दिएको हो, आशय कसैलाई भौतिक कारबाही गर्ने होइन।’

You may also like