टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा

by समतल अनलाइन
44Shares

धनगढी । कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा सहभागी अन्य कर्मचारीको खोजी गरिरहेको र उनीहरु सम्पर्कमा नरहेको बताएको छ ।

घटनाको विषयमा प्रशासनले दुई पक्षबीच छलफल गरेपनि ठोस सहमति भने नभएको बताइएको छ । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले जेठ २९ गते टेम्पोलाई धकेलेर भीरमा पल्टाइदिएको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ ।

टेम्पो सञ्चालक घनश्याम धामीकी श्रीमती धनादेवी धामीले टेम्पो घरमै राख्ने र कहिलेकाहीँ मात्र पसलमा छोड्ने गरिएको बताएकी छन् । उनका अनुसार जेठ २९ गते पसल हटाउने विषयमा वन कर्मचारी र उनका श्रीमानबीच विवाद भएको थियो । उनले पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायतका सामग्री निकाल्न खोज्दा पनि टेम्पो जोगाउन नसकिएको बताएकी छन् । धामीले कर तिरेको टेम्पो भएकाले लैजान खोज्दा समेत रोकिएको आरोप लगाएकी छन् । उनले वन कर्मचारीहरूले कुनै कुरा नसुनी टेम्पो खसालेको बताएकी छन् ।

अर्कोतर्फ डिभिजन वन कार्यालयले भने टेम्पो वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले राखिएको संरचनाको रूपमा प्रयोग हुँदै आएको दाबी गर्दै किनारमा राख्न खोज्दा पल्टिएको भन्दै आफ्नो कार्यको बचाऊ गरेको छ ।

You may also like