बुटवल । बुटवलमा बिक्रीका लागि ल्याइएको काउलीमा मापदण्डभन्दा बढी विषादी अवशेष भेटिएपछि २२ केजी काउली नष्ट गरिएको छ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ बुटवलले गरेको परीक्षणमा मर्चवारी गाउँपालिकाबाट संकलन गरिएको काउलीको नमुनामा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको अवशेष ४५ प्रतिशतभन्दा बढी पाइएको हो।
कृषि विभाग अन्तर्गतको प्रयोगशालाले जेठ २२ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनमा उक्त काउलीलाई ‘विसर्जन गर्नुपर्ने’ श्रेणीमा राखिएको थियो। सोही आधारमा अमर सब्जी पसलमा बिक्रीका लागि ल्याइएको २२ केजी काउली नष्ट गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राजिव भण्डारीले जानकारी दिए।
प्रयोगशालाका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष भएको तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी अवशेष भेटिए केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था छ भने ४५ प्रतिशतभन्दा बढी भए त्यस्ता तरकारी विसर्जन गर्नुपर्छ।
बजार अनुगमनका क्रममा संकलित ११ वटा तरकारी नमुनामध्ये १० वटा नमुना भने उपभोगयोग्य रहेको भण्डारीले बताए। परीक्षण गरिएका सिमी, भान्टा, काँक्रो, मेथी, बोडी, घिरौँला, गाजर र भिण्डीलगायतका तरकारीमा विषादीको मात्रा स्वीकृत सीमाभित्र रहेको पाइएको छ।
खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सरोकारवाला निकायले किसान तथा व्यवसायीलाई विषादी प्रयोग गर्दा निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेका छन्। साथै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय तरकारी उपलब्ध गराउन उत्पादनदेखि बजारसम्म निगरानीलाई थप प्रभावकारी बनाइने जनाइएको छ।




