बुटवल नेपालको पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्न राज्यका नीति तथा कानुनी जटिलता हटाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। केवल सैद्धान्तिक बहस र प्रतिवेदनले पर्यटन क्षेत्रमा अपेक्षित सुधार सम्भव नहुने भन्दै कार्यान्वयन तहका समस्याको समाधान, समयानुकूल नीति निर्माण तथा तीन तहका सरकारबीच रहेको अधिकारको अस्पष्टता अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
रुपन्देही उद्योग संघ को आयोजना तथा बुटवल उपमहानगरपालिका को सहयोगमा सोमबार बुटवल मा आयोजित ‘रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती’ विषयक वृहत् गोष्ठीमा वक्ताहरूले राज्यका नीतिगत कमजोरीकै कारण पर्यटन क्षेत्रबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताएका थिए।
उनीहरूले पर्यटन नीतिमा व्यापक सुधार गर्दै नेपाल भ्रमणमा आउने पर्यटकको बसाइ अवधि बढाउन आवश्यक रहेको धारणा राखे। पर्यटकलाई लामो समयसम्म नेपालमा राख्न आकर्षक प्याकेज, विविध पर्यटन गतिविधि तथा प्रभावकारी प्रचारप्रसारमा जोड दिनुपर्ने सुझाव दिए ।
वक्ताहरूले रुपन्देहीमा पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रशस्त सम्भावना भए पनि त्यसको पर्याप्त उपयोग हुन नसकेको बताए। विशेषगरी तराई क्षेत्रलाई मनोरञ्जन तथा अनुभवमूलक पर्यटन गन्तव्यका रूपमा विकास गर्दै पर्यटकको बसाइ अवधि बढाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।
हाल नेपालमा विदेशी पर्यटकको औसत बसाइ अवधि १६ दिनभन्दा बढी भए पनि लुम्बिनी मा पर्यटकहरू औसतमा करिब डेढ दिन मात्र बस्ने गरेको उल्लेख गर्दै त्यसलाई बढाउने लक्ष्यसहित विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।
कार्यक्रमको उद्घाटन गर्दै खेलराज पाण्डेय ले रुपन्देहीको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान हुन सक्ने बताउँदै निजी क्षेत्रलाई लगानी र प्रवर्द्धनमा सक्रिय हुन आग्रह गरे। स्थानीय सरकार पर्यटन विकासका प्रयासमा सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताए।
उनले बुद्ध जन्मस्थल लुम्बिनी, रामापिथेकस तथा जितगढी किल्ला जस्ता ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका स्थलहरूको प्रभावकारी प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्याल तथा ध्रुव खरेल ले बुद्ध परिपथलाई केन्द्रमा राखेर पर्यटन विकासका योजनामा सहकार्य गर्न स्थानीय तहहरू सदैव तयार रहेको धारणा व्यक्त गरे।
गोष्ठीमा नेपाल पर्यटन बोर्ड का सिनियर म्यानेजर सुमन घिमिरे, पर्यटन अध्येता तथा प्राध्यापक युवराज कंडेल तथा लुम्बिनी विश्वविद्यालय का विभागीय प्रमुख डा. श्री प्रसाद भट्टराई ले पर्यटन विकाससम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए।
वक्ताहरूले लुम्बिनीलाई शान्ति, ध्यान तथा आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै रुपन्देहीलाई प्रमुख पर्यटन गन्तव्य बनाउनुपर्नेमा जोड दिए। साथै, स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन गर्दै बुटवलको मौलिक संस्कृति र पहिचानलाई पर्यटनसँग जोड्न सके पर्यटक आकर्षण बढाउन सकिने धारणा व्यक्त गरिएको थियो।
पर्यटनको वर्तमान अवस्थाबारे प्रस्तुति दिँदै युवराज कंडेलले पर्यटन विकासका लागि गुणस्तरीय सेवा र प्रभावकारी कथावाचन (स्टोरीटेलिङ) आवश्यक रहेको बताए। उनले पर्यटन सूचना केन्द्र स्थापना गरी नयाँ पुस्तालाई पर्यटन उद्यमसँग जोड्नुपर्ने सुझाव दिए।
डा. श्री प्रसाद भट्टराईले पछिल्लो समय धार्मिक तथा सांस्कृतिक सम्पदाको नक्कली प्रतिरूप निर्माण (Destination Duplication) बढ्दै गएको भन्दै यसले मौलिक पर्यटन विकासमा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने चेतावनी दिए। उनले होटल व्यवस्थापन तथा पर्यटन अध्ययनका विद्यार्थीलाई कक्षाकोठाभन्दा बढी व्यवहारिक प्रशिक्षणमा जोड दिनुपर्ने बताए।
कार्यक्रमको दोस्रो सत्रमा सुमन घिमिरे, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, वरिष्ठ पर्यटन व्यवसायी माधव नेपाल तथा नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारी बीच सामूहिक संवाद तथा अन्तरक्रिया सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण पत्रकार प्रदीप आचार्य ले गरेका थिए।
सुमन घिमिरेले पर्यटन विकासका लागि पूर्वाधार र यातायात क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै लुम्बिनी आउने पर्यटकलाई अन्य गन्तव्यसम्म विस्तार गर्न सके मात्र पर्यटनबाट बढी लाभ लिन सकिने बताए।
सागर अधिकारीले निजी क्षेत्रले पर्यटन क्षेत्रमा ठूलो लगानी गरे पनि अपेक्षित सफलता प्राप्त गर्न नसकेको भन्दै सरकारी नीति तथा प्रक्रियालाई मुख्य बाधकका रूपमा चित्रण गरे। उनले अब नेपालले ठूलो संख्यामा पर्यटक भित्राउने कि उच्चस्तरीय खर्च गर्ने पर्यटक लक्षित गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने बताए।
नेत्र प्रसाद भुसालले पर्यटन डिभिजन कार्यालयले पर्यटन उद्योग दर्ता, नवीकरण तथा धार्मिक र सांस्कृतिक पूर्वाधार विकासका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए।
वरिष्ठ पर्यटन व्यवसायी माधव नेपालले पर्यटन विकासका विषयमा लामो समयदेखि सैद्धान्तिक बहस मात्र भइरहेको भन्दै अब परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताए। उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रलाई काम गर्न सहज वातावरण नहुँदासम्म यस्ता छलफलहरू प्रतिवेदनमै सीमित रहने टिप्पणी गरे।
कार्यक्रम कृष्ण प्रसाद पराजुली को अध्यक्षता, महासचिव सुमन वस्याल को सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्ले को धन्यवाद मन्तव्यसहित सम्पन्न भएको थियो।


