पुनः श्रम स्वीकृति प्रक्रिया अब पूर्ण रूपमा स्वचालित

by समतल अनलाइन
39Shares

सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं २ लाई कार्यान्वयन गर्ने क्रममा यो व्यवस्था मिलाइएको विभागको भनाइ छ । मन्त्रालयको १० वटा कार्ययोजना मध्येको एक रहेको यस व्यवस्थालाई जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णयले औपचारिक रूपमा अघि बढाएको हो।

यसअघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले सोही देश र सोही कम्पनीका लागि पुनः आवेदन दिएमा अब कार्यालय धाइरहनु पर्ने झन्झट हटेको छ।
स्वचालित प्रणालीमार्फत पुनः श्रम स्वीकृति पाउनका लागि केही अनिवार्य सर्तहरू तोकिएका छन्।

जसअनुसार आवेदकले यसअघि श्रम स्वीकृति प्राप्त गरेकै देश र कम्पनीका लागि आवेदन दिएको हुनुपर्नेछ भने राहदानीको म्याद कम्तीमा तीन महिना बाँकी रहनुपर्नेछ। यसका साथै भिसा वैध हुनुपर्ने, कम्पनीसँगको करार सम्झौता अनिवार्य हुनुपर्ने र सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार कल्याणकारी कोष तथा आवधिक जीवन बीमाको रकम समेत नियमानुसार जम्मा गरेको हुनुपर्नेछ।

सेवाग्राहीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली मार्फत आवश्यक विवरणहरू भरेर स्व-घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ। तर आवेदन दिँदा विवरण गलत भरिएमा वा तोकिएका कागजातहरू पेस नगरेर कुनै पनि प्रकारको त्रुटि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी र कानुनी दायित्व सेवाग्राही स्वयंले नै बेहोर्नुपर्ने विभागले स्पष्ट पारेको छ।

You may also like