मधेश प्रदेशको अर्धवार्षिक प्रतिवेदन: आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान

by समतल अनलाइन
44Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको अर्धवार्षिक आर्थिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशत रहने अनुमान गरिएको छ ।

राष्ट्र बैंकले मधेश प्रदेशका आठ जिल्लामा गरिएको स्थलगत तथा गैरस्थलगत अध्ययन, साथै राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्कका आधारमा प्रतिवेदन तयार गरेको जनाएको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान छ ।

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ रहने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत, द्वितीय क्षेत्रको योगदान १३.७३ प्रतिशत तथा सेवा क्षेत्रको योगदान ६१.८१ प्रतिशत रहने अनुमान गरिएको छ ।

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको ३४.९७ प्रतिशत रहने अनुमान छ । सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको ०.१४ प्रतिशत रहने उल्लेख गरिएको छ । प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलर ९३४ रहने अनुमान गरिएको छ । कृषि क्षेत्रतर्फ समीक्षा अवधिमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफल ४५.२४ प्रतिशतले बढेको छ । खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल १०.४९ प्रतिशतले घटेको छ भने फलफूल तथा मसलाबाली क्षेत्र ५.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

तरकारी तथा बागवानी उत्पादन ५.२३ प्रतिशत तथा फलफूल र मसला उत्पादन २३.८९ प्रतिशतले बढेको छ । खाद्य तथा अन्य बाली उत्पादन भने १८.१३ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादनतर्फ दूध उत्पादन ११.०६ प्रतिशत, मासु उत्पादन ३३.९८ प्रतिशत तथा अण्डा उत्पादन २३.४६ प्रतिशतले बढेको छ । माछा उत्पादन पनि ८.०३ प्रतिशतले वृद्धि भएको छ । वनजन्य उत्पादनतर्फ काठ उत्पादन १०.०९ प्रतिशत तथा दाउरा उत्पादन ३०.८० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०८२ पुस मसान्तसम्म मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन तथा वन क्षेत्रमा ६० अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाहित कुल कर्जाको १२.१९ प्रतिशत हो ।

उद्योग क्षेत्रतर्फ अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग २९.७६ प्रतिशत रहेको छ । औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा २.६७ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा यस्तो कर्जा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

सेवा क्षेत्रतर्फ समीक्षा अवधिमा घरजग्गा दर्ता संख्या ४८ हजार ९ सय १० पुगेको छ । घरजग्गा दर्ताबाट २ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ ।

२०८२ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट सङ्कलन गरेको निक्षेप २०.९० प्रतिशतले बढेर ४ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने २.३९ प्रतिशतले बढेर ५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । स्वास्थ्य क्षेत्रतर्फ सरकारी तथा सामुदायिक अस्पतालको संख्या २५ प्रतिशतले बढेको छ । चिकित्सक संख्या १६.६७ प्रतिशत तथा शैयाको संख्या ६.८५ प्रतिशतले वृद्धि भएको छ । निजी अस्पतालको संख्या ४.७६ प्रतिशत, चिकित्सक संख्या १५.०२ प्रतिशत तथा शैयाको संख्या ६.१७ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्वाधारतर्फ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौँ–तराई मधेश द्रुतमार्ग तथा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण कार्यक्रम कार्यान्वयन चरणमा रहेका छन् । तीमध्ये हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको प्रतिवेदनमा उल्लेख छ ।

रोजगारीतर्फ चालु आर्थिक वर्षको पुस मसान्तसम्म मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ५ सय २० पुगेको छ । यो मुलुकभर श्रम स्वीकृति लिने कुल संख्याको २२.३२ प्रतिशत हो ।

You may also like