बुटवल।सिद्धबाबा सुरुङमार्ग को निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले आगामी असोजदेखि सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित सुरुङभित्रका संरचना, पहुँच सडक तथा सुरक्षा व्यवस्थासम्बन्धी कामलाई एकसाथ अघि बढाएको जनाएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन उक्त आयोजनाको हालसम्म भौतिक प्रगति ६८ प्रतिशत तथा वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षे निर्माण अवधिसहित सुरु गरिएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडलमा निर्माण भइरहेको हो।
आयोजनाका प्रमुख राजेश पौडेल ले आगामी असोजसम्म सुरुङमार्गबाट यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिए। उनका अनुसार निर्माण सम्पन्न भएपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सञ्चालन, मर्मतसम्भार तथा सुरक्षाको जिम्मेवारी बहन गर्नेछ। त्यसपछि थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डीएलपी) लागू हुनेछ।
आयोजनाको प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक जटिलताका कारण निर्माण कार्य प्रभावित भएको थियो। नेपालमा ईपीसी मोडलको नयाँ अभ्यास भएकाले रुख कटान अनुमति, कागजात व्यवस्थापन तथा बजेट व्यवस्थापनमा समस्या देखिएको आयोजनाले जनाएको छ। हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।
सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ। सुरुङभित्रबाट यातायात सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणसम्बन्धी काम गरिने योजना रहेको आयोजनाले जनाएको छ।
यस्तै, पैदलयात्रीका लागि ‘रकसेड’भित्र सुरक्षित बाटो निर्माण गरिने तथा बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसमेत गरिने तयारी छ। आयोजनाको प्रारम्भिक लागत अनुमान करिब १० अर्ब रुपैयाँ रहे पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता गरिएको हो।
पहिरो तथा भूक्षयका दृष्टिले अत्यन्त जोखिमयुक्त मानिने यस सडकखण्डमा सुरक्षित यात्रा सुनिश्चित गर्नु तथा जनधनको क्षति न्यूनीकरण गर्नु सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।


