बुटवल।नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान खेलाडीहरुको पहिचान गर्ने उदेश्यका साथ पृतनापति ट्रफि –२०८३ शुभारम्भ भएको छ । बुटवलस्थित मध्य पश्चिम पृतना खेलमैदानमा प्रतियोगिता अन्तरगत सोमबार भएको फुटबल समुद्घाटन खेलमा श्री शम्शेरदल गणले विजयी शुरुवात गरेको छ । निक्कै प्रतिस्प्रर्धात्मक खेलमा शम्शेरदलले श्री बर्दबहादुर गणलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चार वटा टिमहरुका बिचमा लिग आधारमा खेलहरु जेठ १४ गतेसम्म संचालन हुने छ । 
एक समारोहका बिच श्री मध्य पश्चिम पृतनाका पृतनापति हिम्मत बहादुर बिष्टले पानसमा दीप प्रज्वलन गरि बिधिवत रुपमा प्रतियोगिता शुभारम्भ गरे ।
कार्यक्रममा पृतना हेड क्वाटरका सह चिफ अफ स्टाफ तथा पृतनापति ट्रफी मुल सञ्चालन समितिका संयोजक महासेनानी सन्जिव सिलवालले पृतनापति ट्रफीको ईतिहासबारे प्रकाश पारे । नेपाली सेनाका विभिन्न तहमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने क्रममा पृतना अन्तरगत युनिटहरुमा रहेका उत्कृष्ट खेलाडीहरुको पहिचान गर्न हरेक बर्ष पृतनापति ट्रफी सञ्चालन हुदै आईरहेको उनले बताए ।
कार्यक्रममा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, श्री नं. १९ वाहिनी अड्डा तथा नं २२ बाहिनी अड्डाका बाहिनीपतिहरु, नेपाली सैनिक ब्याटल स्कुलका शिक्षाधिकृतको उपस्थिती रहेको थियो । प्रतियोगितमा नं.१९ बाहिनी अन्तर्गत श्री बर्द बहादुर गण, चण्डीदल गण, सुर्यदल गण, ज्वालादल गण र सिद्धिबक्स गण त्यसैगरी २२ बाहिनी अन्तर्गत श्री शम्सेरदल गण, तारादल गण, गोरखदल गण, दि फेमश महिन्द्रदल गण, श्री केवलजंग गुल्म, रामवाण गुल्म, बीरभद्रजंग गुल्मका खेलाडीहरु सहभागी रहेका छन । 
जेठ १४ गतेसम्म सञ्चालन हुने पृतनापति ट्रफी–२०८३ को सामूहिक खेल तर्फ फुटबल, बास्केटबल र भलिबल गरि ३ तथा व्यक्तिगत तर्फ बक्सिङ्ग, तेक्वान्दो, जुडो, एथ्लेटिक्स र पौडी सहित ५ बिधाहरु गरि जम्मा ८ बिधाका खेलहरु समावेश छन । पृतनापति ट्रफीमा उत्कृष्ट हुने गण तथा खेलाडीहरुले प्रधान सेनापति ट्रफी २०८३ मा प्रतिस्प्रर्धा गर्ने अवसर पाउछन ।








