सिद्धबाबा मन्दिर परिसरमा पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

by समतल अनलाइन
35Shares

पहिलो पाइला नेपाल बुटवल शाखाको आयोजनामा श्री सिद्धबाबा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शाखा अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सन्तोष बन्जाडे तथा विशिष्ट अतिथि नारायण आचार्यको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष रुद्रप्रसाद खनालले स्वागत मन्तव्य व्यक्त गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षणमा युवाको भूमिका महत्वपूर्ण रहने बताए।

त्यसैगरी, सचिव सन्तोष सुनारले कार्यक्रम सञ्चालन गर्दै वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा पहिलो पाइला नेपाल बुटवल शाखाका पदाधिकारी, सदस्य तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सरसफाइका क्रममा मन्दिर परिसर वरपर रहेका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो।

सहभागीहरूले धार्मिक स्थललाई सफा, सुन्दर र व्यवस्थित राख्नु सबैको साझा जिम्मेवारी भएको बताएका थिए। कार्यक्रमले सामाजिक सेवाप्रति युवाहरूको सक्रियता र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

You may also like