भैरहवा । रुपन्देहीमा लागूऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने १७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार जिल्लाका विभिन्न स्थानमा आकस्मिक चेकपोष्ट राखेर यात्रु बोकेर सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनमा चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए ।
सिद्धार्थ राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा चालकहरूले लागूऔषध सेवन गरेर सवारी चलाइरहेको भन्ने विशेष सूचनाका आधारमा सम्भावित सवारी दुर्घटना तथा धनजनको क्षति न्यूनीकरण गर्न चेकजाँच अभियान सञ्चालन गरिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नेतृत्वमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जबाट खटिएको प्राविधिक चिकित्सकसहितको टोलीले १ सय जना चालकको युरिन परीक्षण गरेको थियो । ड्रग किटमार्फत गरिएको परीक्षणमा १७ जना चालकमा लागूऔषध सेवन गरेको पोजिटिभ रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गरेको पुष्टि भएका चालकहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारवाहीका लागि पक्राउ गरी अनुसन्धान अघि बढाइएको डीएसपी चन्दले बताए ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेहरूमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ का २४ वर्षीय मञ्जिल परियार, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का २२ वर्षीय इमरान अली मुसलमान, तिलोत्तमा–६ का ४८ वर्षीय कुलप्रसाद रेग्मी, सिद्धार्थनगर–१ का ३८ वर्षीय सुरज राना, लुम्बिनी सांस्कृतिक–९ का ४४ वर्षीय सरिफ अहमद, तिलोत्तमा–५ का ३० वर्षीय विशाल मगर र तिलोत्तमा–३ का ४२ वर्षीय होमबहादुर क्षेत्री रहेका छन् ।
त्यस्तै तिलोत्तमा–१२ का २३ वर्षीय दिपेश कठरिया थारु, बुटवल–११ का ४७ वर्षीय सूर्यबहादुर विक, बुटवल–१३ का २६ वर्षीय प्रविण सिंजाली, कैलालीको चुरे गाउँपालिका–५ का २५ वर्षीय मोहन राना मगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ का ३२ वर्षीय सुमन परियार, दाङको तुल्सीपुर–१५ का २७ वर्षीय सन्जु चौधरी र धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय जिप्सन राई पनि पक्राउ परेका छन् ।
यस्तै नवलपरासीको रामग्राम–१६ का २८ वर्षीय सन्तोषकुमार चौधरी, बर्दघाट–४ का ३४ वर्षीय ताराप्रसाद उपाध्याय र उदयपुरको चौदण्डीगढी–९ का २५ वर्षीय विवेक राईलाई पनि लागूऔषध सेवन गरी सवारी चलाएको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



