बुटवलमा ट्राफिक कडाइ: एकै दिन ४८ ई–रिक्सा चालक कारबाहीमा

by समतल अनलाइन
106Shares

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई–रिक्सा चालक कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण तथा सामाजिक अपराध नियन्त्रण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न स्थानमा गरेको चेकजाँच तथा सचेतनामूलक अभियानका क्रममा नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही गरिएको हो ।

भुड्किचोक, अमरपथ, कालिका पथको तीनकुने र देवीनगरलगायतका व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा बिलबुक नभएका तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सवारी चलाउने चालकहरूलाई कारबाही गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार बुटवललाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विभिन्न अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको छ । शुक्रबार कारबाहीमा परेका ई–रिक्साचालकहरूलाई प्रचलित कानुन अनुसार जरिवाना गरिने पनि उनले बताए ।

यसअघि पनि प्रहरीले स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएर कारबाही गरेको थियो । साथै, स्वरूप परिवर्तन गरी ग्राहक ठगी गर्ने टिप्पर तथा ट्र्याक्टरहरूलाई समेत नियन्त्रणमा लिई कारबाही गरिएको थियो । “अपरेशन साइलेन्ट स्ट्रिट” अभियानअन्तर्गत ५० भन्दा बढी मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

You may also like