अमेरिकी नाकाबन्दीपछि पहिलोपटक तेल ट्यांकर होर्मुज हुँदै पश्चिमतर्फ प्रस्थान

by समतल अनलाइन
29Shares

काठमाडौं । अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लागू गरेपछि होर्मुज जलमार्गबाट पहिलोपटक कच्चा तेल बोकेको एक ट्यांकर पश्चिमतर्फ प्रस्थान गरेको छ ।

विश्वभरका जहाजहरूको आवतजावत निगरानी गर्ने ‘शिपिङ ट्रयाकिङ मनिटर’ले उक्त जानकारी पुष्टि गरेको हो ।माल्टाको झण्डा अंकित तेल ट्यांकर ‘अगियोस फ्यानोरियोस–१’ बिहीबार इराकको बसरा बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ । बसरा बन्दरगाहमा अमेरिकी नाकाबन्दी लागू नभएको बताइएको छ ।

जहाजहरूको ट्रयाकिङ गर्ने प्लेटफर्म ‘मरिन ट्राफिक’का अनुसार उक्त ट्यांकर ओमानको खाडीमा करिब दुई दिनसम्म रोकिएको थियो । त्यसपछि पुनः आफ्नो यात्रा अघि बढाएको हो । यसैबीच, अमेरिकी नौसेनाले इरान आसपासका व्यापारिक जहाजहरूमाथि आवश्यक परे कारबाही गर्न आफू तयार रहेको जनाएको छ । अमेरिकी युद्धपोतहरूले यस क्षेत्रमा रहेका जहाजहरूलाई चेतावनी दिँदै नाकाबन्दी कार्यान्वयनका क्रममा जहाज रोक्ने वा बल प्रयोग गर्न सकिने बताएका छन् ।

नौसेनाले रेडियो सन्देशमार्फत इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट आउने जहाजहरूलाई रोकिनुका साथै जफत गर्न सकिने चेतावनी दिएको छ । यो सन्देश अमेरिकी सेनाको मध्य कमान्डले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको छ ।

एक सैन्य अधिकारीले नाम नबताउने सर्तमा उक्त सन्देश हाल यस क्षेत्रका सबै जहाजहरूलाई प्रसारण भइरहेको पुष्टि गरेका छन् ।

You may also like