बुटवलमा फुटपाथ अतिक्रमणविरुद्ध डोजर अभियान सुरु

by समतल अनलाइन
81Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन सुरु गरेको छ। सहरलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्यसहित सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।

उपमहानगरपालिकाले तीन दिनसम्म माइकिङ गर्दै व्यवसायीलाई स्वैच्छिक रूपमा सडक अतिक्रमण खाली गर्न आग्रह समेत गरेको थियो। स्वैच्छिक खाली नगरेकालाई बुधवार उपमहानगरपालिकाले डोजरसहितको टोली परिचालन गरेर खाली गराएको हो।

बुधवार अभियानअन्तर्गत बसपार्क, अस्पताल लाइन र ट्राफिक चोक क्षेत्रको फुटपाथको अतिक्रमण हटाइएको छ। निर्देशनलाई अटेर गरी व्यापार जारी राख्ने केही व्यवसायीका सामग्री बुधवार बिहान जफत पनि गरिएको उपमहानगरपालिकाले जनाएको छ।

यात्रुका लागि बनाइएकाे सडक पेटीलाई सुरक्षित बनाउन कसैको अनुहार नहेरी काम गर्ने मेयर पाण्डेले बताएका छन्। पाण्डेयका अनुसार बुटवललाई सफा, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्ने उद्देश्यले यो कदम चालिएको हो।

फुटपाथ व्यवसायीहरूले भने वैकल्पिक स्थान दिनुपर्ने माग गर्दै आएका छन्।

You may also like