हिन्द महासागरम डुङ्गा दुर्घटना हुँदा २५० जना बेपत्ता

by समतल अनलाइन
136Shares

काठमाडौँ । बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको डुङ्गा हिन्द महासागरको पूर्वी किनारस्थित अण्डमान सागरमा दुर्घटनाग्रस्त हुँदा करिब २५० जना बेपत्ता भएका छन्।

संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार दुर्घटनामा रोहिङ्ग्या र बंगलादेशी नागरिक परेका छन्।

बीबीसीका अनुसार माछा मार्न प्रयोग हुने उक्त डुङ्गा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो। तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी यात्रु सवार रहेका कारण डुङ्गा डुबेको जनाइएको छ।

बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारीअनुसार ९ अप्रिलमा उनीहरूको एक जहाजले दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो।

डुङ्गा कहिले दुर्घटनामा परेको भन्ने विषय स्पष्ट नभएको बताइएको छ। रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो। सन् २०१७ मा भएको हिंसापछि उनीहरू ठूलो संख्यामा बंगलादेश पलायन भएका थिए।

म्यानमारमा बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेका छन् भने रोहिङ्ग्या मुसलमानलाई नागरिकता प्रदान गरिएको छैन। बंगलादेशमा कठिन अवस्था भएपछि धेरै रोहिङ्ग्या जोखिमपूर्ण समुद्री यात्रा गर्दै मलेशिया पुग्ने प्रयास गर्ने गरेका छन्।

उद्दार गरिएकामध्ये एक रफिकुल इस्लामले उद्दार हुनुअघि झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन्। ४० वर्षीय इस्लामका अनुसार मलेशियामा रोजगारीको आशामा उनले जोखिमपूर्ण यात्रा रोजेका थिए।

You may also like