आजदेखि अण्डाको मूल्य बढ्यो

by समतल अनलाइन
22Shares

काठमाडौँ । अण्डाको उत्पादनमा कमी र माग बढेसँगै मूल्य बढाइएको छ। लेयर्स कुखुरापालक संघले फार्म मूल्यका आधारमा वैशाख १ देखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ दरअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो ४५० रुपैयाँभन्दा १५ रुपैयाँ बढी हो। यस्तै, मझौला अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि ४०० रुपैयाँ थियो।

यसअघि गत मंसिरमा अण्डाको मूल्य उच्च विन्दुमा पुगेको थियो। त्यतिबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला ५५० रुपैयाँसम्म बिक्री भएको थियो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा देखिएको रोग र बढ्दो गर्मीका कारण उत्पादन घटेको हो।

नयाँ वर्षको पूर्वसन्ध्यादेखि पर्यटकीय गतिविधि बढ्दा अण्डाको माग बढेको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरबाट आयात घट्दा पनि आपूर्ति प्रभावित भएको छ। यी कारणले माग–आपूर्तिको असन्तुलन सिर्जना भई मूल्य वृद्धि भएको हो।

हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९.१२ रुपैयाँ पर्ने बताइएको छ, जसअनुसार प्रतिक्रेट लागत करिब ५७४ रुपैयाँ पुग्छ। लागत नजिक पुग्दै गर्दा पुनः मूल्य घट्दा किसान निरास बनेका छन्। बजार अवस्थाअनुसार संघले समर्थन मूल्य निर्धारण गर्दै आएको छ र आगामी दिनमा मूल्य लागतसम्म पुग्ने अपेक्षा गरिएको छ।

You may also like