काठमाडौं । कृषि तथा पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। सार्वजनिक विवरणअनुसार उनले ५० हजार रुपैयाँ मूल्यको घडी प्रयोग गर्ने गरेको उल्लेख गरेकी छन्।
सम्पत्ति विवरणमा मन्त्री चौधरीसँग ९० हजार रुपैयाँ पर्ने मोबाइल र ७५ हजार रुपैयाँ मूल्यको ल्याप्टप रहेको जनाइएको छ।
त्यस्तै, उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ। उक्त सुन तथा चाँदीको स्रोत पैतृक तथा स्वआर्जन दुवै रहेको विवरणमा उल्लेख गरिएको छ।
बैंक मौज्दाततर्फ हेर्दा मन्त्री चौधरीको नाममा ५ वटा बैंकमा गरी कुल १ लाख २६ हजार रुपैयाँ जम्मा रहेको छ।
यातायात साधनतर्फ उनले ऋण लिएर एउटा स्कुटर खरिद गरेको उल्लेख गरेकी छन्। स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार रुपैयाँ ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको विवरणमा जनाइएको छ।
यसका अतिरिक्त स्वआर्जनबाट खरिद गरिएको ३ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको अर्को स्कुटर पनि उनको नाममा रहेको छ।
रोचक रूपमा, सम्पत्तिको रूपमा उनले माइती पक्षबाट प्राप्त २ वटा बाख्रा र १० वटा कुखुरा समेत उल्लेख गरेकी छन्।



