काठमाडौं ।आज देशका विभिन्न भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
दिउँसो कोशी प्रदेशसहित पहाडी र हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानमा पनि यस्तै किसिमको मौसम गतिविधि देखिन सक्ने जनाइएको छ।
रातिको समयमा कोशी प्रदेशसहित हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा अन्य हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।
मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन र चट्याङबाट जोगिन आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।





