अमेरिका–इरानबीच दुई साताका लागि युद्धविराम

by समतल अनलाइन
69Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । ट्रम्पको यो घोषणा उनले तय गरेको अन्तिम समयसीमा सकिनुअघि आएको हो । यसअघि उनले इरानविरुद्ध कडा चेतावनी दिँदै ‘सभ्यता समाप्त’ पार्ने धम्की दिएका थिए, जसलाई परमाणु आक्रमणको धम्कीका रूपमा समेत व्याख्या गरिएको थियो । सो अभिव्यक्तिको अमेरिकाभित्रै आलोचना भएको थियो ।

यो निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पको दाबी छ । यसले अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको उल्लेख गर्दै यसलाई व्यापक युद्धविरामतर्फको प्रारम्भिक कदमका रूपमा व्याख्या गरेका छन् ।

यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको छलफलपछि लिइएको ट्रम्पको भनाइ छ । उनीहरूले सम्भावित आक्रमण टार्न पहल गर्दै आएका थिए ।

ट्रम्पले युद्धविराम सशर्त रहेको पनि स्पष्ट पारेका छन् । उनले तनाव कम गर्न इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताएका छन् । ‘यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले भनेका छन्, ‘यस अवधिमा दुवै पक्षले आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको बताउँदै उनले वार्ताको व्यावहारिक आधार मानेका छन् । अधिकांश महत्वपूर्ण विषयमा प्रारम्भिक सहमति भइसकेको उनको दाबी छ ।

ट्रम्पले दुई साताको युद्धविरामले दुवै पक्षलाई अन्तिम सम्झौतामा पुग्न समय दिने बताउँदै लामो समयदेखि जारी द्वन्द्व समाधानतर्फ उन्मुख भएको संकेत गरेका छन् ।

You may also like

This will close in 0 seconds