सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औं वार्षिकोत्सव सम्पन्न

by समतल अनलाइन
223Shares

बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पसको ३४औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएका खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण, उत्कृष्ट विद्यार्थी तथा शिक्षक सम्मान र शुभकामना आदान–प्रदान कार्यक्रमसहित सोमबार वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले तत्कालीन समयमा शैक्षिक व्यक्तित्वहरूको पहलमा क्याम्पस स्थापना गरिएको स्मरण गर्दै जग्गा प्राप्तिदेखि भवन निर्माणसम्मको इतिहास प्रस्तुत गरे । उनले क्याम्पस समुदायस्तरमा सञ्चालन भएको उदाहरणीय शैक्षिक संस्था भएको बताए ।

मेयर पाण्डेयले शिक्षासँगै संस्कार, खेलकुद, भौगोलिक पहिचान र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकारले शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको बताए । देशभरिमै सबैभन्दा बढी २७ प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गरिएको उल्लेख गर्दै उनले कक्षा १२ सम्मको विद्यालय शिक्षा स्थानीय तहको जिम्मेवारीअनुसार विकास र लगानी भइरहेको बताए । बजेट अभावका कारण शैक्षिक संस्थालाई समस्या नपर्ने उनको दाबी थियो

क्याम्पस प्रमुख गोपाल चापागाईंले समुदायको सहकार्यमा गुणस्तरीय शिक्षामा जोड दिँदै सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।

वार्षिकोत्सवको अवसरमा अवकाश प्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको थियो । साथै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले शिक्षासँगै खेलकुद गतिविधिमा क्याम्पसको अग्रसरता प्रशंसनीय रहेको बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद खनाल, रामनाथ उपाध्याय तथा पब्लिक प्राध्यापक संघका श्रीवास्तव नेपालले समयअनुसारको गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस सफल रहेको धारणा व्यक्त गरे ।

क्याम्पसमा यस वर्ष ७३५ जना नयाँ विद्यार्थी भर्ना भएका छन् भने कुल १,९३५ विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायअन्तर्गत कक्षा ११ र १२ देखि स्नातक तथा स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको छ ।

You may also like

This will close in 0 seconds