बुटवलमा चैत १६ देखि राष्ट्रिय लन टेनिस प्रतियोगिता, ११ विधामा प्रतिस्पर्धा

by समतल अनलाइन
101Shares

बुटवल । रूपन्देही लन टेनिस संघको आयोजनामा चैत १६ गतेदेखि बुटवलमा आठौं बुटवल राष्ट्रिय खुला लन टेनिस तथा चौथो मेयर कप प्रतियोगिता सञ्चालन हुने भएको छ । संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुष तथा महिला एकल र डबल्स गरी कुल ११ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष विष्णुप्रसाद चापागाईंले जानकारी दिए । एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, ४५ प्लस, ५५ प्लस र ६५ प्लस गरी ६ विधा समावेश गरिएको छ ।

त्यस्तै डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, ४५ प्लस र ५५ प्लस गरी ५ विधामा खेल हुने जनाइएको छ ।
पुरुष तथा महिला एकलतर्फ विजेताले जनही ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उमेर समूहअन्तर्गत ३५ प्लस, ४५ प्लस, ५५ प्लस र ६५ प्लसतर्फका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले क्रमशः २० हजार, २० हजार, १५ हजार र ७ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिता बुटवल–११, देविनगरस्थित टेनिस कोर्टमा चैत २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २६ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको संघका सचिव मनोज नेपालले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट २ सयभन्दा बढी पुरुष तथा महिला खेलाडीको सहभागिता रहने जनाइएको छ । संघले २०५७ सालदेखि बुटवलमा निरन्तर राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता आयोजना गर्दै आएको छ ।

You may also like