लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु, १२ करोडको मेसिन जडान

by समतल अनलाइन
40Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मा एमआरआई (MRI) सेवा सुरु गरिएको छ। अस्पतालको ११६औँ स्थापना दिवसको अवसरमा चेतनारायण आचार्य ले शुक्रबार उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।

लुम्बिनी प्रदेश सरकार को करिब १२ करोड रुपैयाँको आर्थिक सहयोगमा एमआरआई मेसिन जडान गरी सेवा सञ्चालनमा ल्याइएको हो। सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाइएको अस्पतालले जनाएको छ।

मुख्यमन्त्री आचार्यले अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताए। विशिष्ट तथा विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न यस्तो अवधारणा अघि सारिएको उनको भनाइ थियो।

उनले प्रदेशभित्रै सबै प्रकारका रोगको उपचार सम्भव बनाउने लक्ष्यसहित अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उल्लेख गरे। “अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ,” उनले भने, “समन्वय र सहकार्यकै कारण अस्पतालले महत्वपूर्ण प्रगति हासिल गरेको हो।”

एमआरआई सेवा सुरु भएपछि अब उपचारका लागि गोरखपुर वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिएको छ। साथै, १२०० शय्याको नयाँ अस्पताल भवन निर्माण कार्य अघि बढेको र हालसम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइएको छ। आगामी तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक कानुनी व्यवस्था गरिएको उल्लेख गर्दै उनले सेवामा अझ समर्पित हुन आग्रह गरे।

कार्यक्रममा खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल ले अस्पतालमा थप विशिष्टीकृत सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ ले सीमित स्रोतका बाबजुद अस्पतालले उल्लेखनीय प्रगति गरेको बताए। उनले लामो समयदेखि करारमा कार्यरत स्वास्थ्यकर्मीको समस्या समाधानका लागि ठोस योजना ल्याउन सरकारसँग आग्रह गरे।

सेवा विस्तारमा उल्लेखनीय प्रगति

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल का अनुसार पछिल्लो एक वर्षमा अस्पतालले भौतिक संरचना र प्रविधिमा महत्वपूर्ण फड्को मारेको छ।

प्रसूति तथा बालरोग भवनमा ४ वटा अत्याधुनिक शल्यक्रिया कक्ष, १४ शय्याको पोस्ट–अपरेटिभ तथा ८ शय्याको रिकभरी वार्ड सञ्चालनमा ल्याइएको छ। आकस्मिक कक्षको चाप व्यवस्थापन गर्न ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्यामा विस्तार गरिएको छ।

प्रविधितर्फ अनलाइन टिकट प्रणाली, डिजिटल पेमेन्ट काउन्टर, मोबाइलमै एसएमएसमार्फत ल्याब रिपोर्ट तथा अटोमेटिक रिपोर्ट प्रिन्ट प्रणाली सुरु गरिएको छ।

स्वास्थ्य बीमा सेवाग्राहीलाई सहज बनाउन ३५ टिकट काउन्टरमार्फत सेवा प्रवाह गरिएको छ, जसमध्ये १० काउन्टरबाट एकैसाथ टिकटिङ र बिलिङ सेवा उपलब्ध छ।

अस्पतालमा न्यूरो माइक्रोस्कोपमार्फत जटिल नशा शल्यक्रिया, आर्थोस्कोपी सेवा, ल्याप्रोस्कोपिक शल्यक्रिया, तथा मिर्गौलामा हुने पत्थरीको उपचारका लागि थुलियम लेजर प्रविधि समेत सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी, कार्डियोलोजीमा टीएमटी, हल्टर मोनिटरिङ र एबीपीएम सेवा तथा इएनटीमा अडियोमेट्री सेवा सुरु गरिएको छ। स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि मेमोग्राफी र ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याइएको छ।

रेडियोलोजीमा डिजिटल एक्सरे मेसिन जडान तथा इन्डोस्कोपी सेवामा थप उपकरण व्यवस्थापन गरी लामो प्रतीक्षा अन्त्य गरिएको अस्पतालले जनाएको छ। आकस्मिक अवस्थामा रगत अभाव हुन नदिन अस्पतालभित्रै ब्लड बैंक स्थापना गरिएको छ।

पूर्व कर्मचारीलाई सम्मान

स्थापना दिवसको अवसरमा अस्पतालका पूर्व कर्मचारीहरूलाई सम्मान गरिएको छ।

पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, पूर्व लेखा प्रमुख मित्रलाल त्रिपाठी तथा पूर्व नर्सिङ प्रमुख प्रभा ज्ञवाली लाई कदरपत्र प्रदान गरिएको थियो।

त्यस्तै, २५ वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ भने अन्य सेवा निवृत्त तथा कार्यरत कर्मचारीहरूलाई समेत सम्मान गरिएको अस्पतालले जनाएको छ।

You may also like