मध्यपूर्व तनाव चर्किँदै : असर विश्वभर फैलिने संकेत

by समतल अनलाइन
97Shares

काठमाडौँ ।मध्यपूर्वमा जारी युद्ध क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने संकेत देखिएको छ । इजरायल र इरानबीचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावले खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षामा प्रभाव पार्ने अवस्था बनेको छ ।

इजरायली सेनाले दक्षिणी लेबनानका चार सहरका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै इरान समर्थित हिजबुल्लाहविरुद्ध लक्षित आक्रमणको चेतावनी दिएको छ । निकासी चेतावनीपछि मध्य बेरुतमा आक्रमण भएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बिना चेतावनी भएका दुई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु र २४ जना घाइते भएका छन् । इजरायलले आफ्नो भूमितर्फ भएका रकेट प्रहारको जवाफमा टायर आसपासका क्षेत्रमा आक्रमण जारी राखेको जनाएको छ ।

इरानले युद्धको असर विश्वव्यापी हुने चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत विश्वव्यापी प्रतिक्रिया सुरु भइसकेको बताएका छन् । उनले अमेरिकी राष्ट्रिय आतङ्कवाद विरोधी केन्द्रका निर्देशक जोसेफ केन्टको राजीनामापत्रसमेत साझा गरेका छन् । ट्रम्प प्रशासनद्वारा नियुक्त केन्टले इरानविरुद्धको युद्धलाई समर्थन गर्न नसक्ने भन्दै पद त्यागेको घोषणा गरेका हुन् ।

इरानी सैन्य नेतृत्वले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको ‘निर्णायक र खेदजनक बदला’ लिने चेतावनी दिएको छ । रिभोलुसनरी गार्ड्सले मध्य इजरायलमा मिसाइल प्रहार गरेको दाबी गर्दै बदला लिने प्रतिबद्धता जनाएको छ । हमासले पनि इरानप्रति ऐक्यबद्धता जनाउँदै द्वन्द्वले क्षेत्रीय सुरक्षा र स्थिरता जोखिममा पार्ने उल्लेख गरेको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्यु पुष्टि गरिसकेको छ ।

खाडी क्षेत्रमा सुरक्षा चुनौती थप बढेको छ । संयुक्त अरब इमिरेट्समा अस्ट्रेलियाली सैन्य मुख्यालय नजिक इरानी प्रक्षेप्य खसेको जानकारी सार्वजनिक भएको छ । साउदी अरेबियाले प्रिन्स सुल्तान एयर बेस नजिक ब्यालेस्टिक मिसाइल रोकेको जनाएको छ भने आठवटा ड्रोन निष्क्रिय पारेको छ । कुवेत र कतारले पनि रकेट तथा ड्रोन आक्रमण विफल पारेका छन् ।

अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य नजिक इरानी क्षेप्यास्त्र केन्द्रहरूमा ‘बङ्कर बस्टर’ बम प्रयोग गरी आक्रमण गरेको जनाएको छ । ऊर्जा आपूर्तिका दृष्टिले संवेदनशील मानिने यो क्षेत्रले द्वन्द्वको आर्थिक प्रभाव थप गम्भीर बन्ने संकेत दिएको छ ।

इजरायलतर्फ पनि क्षति बढ्दो छ । तेल अभिव नजिक इरानबाट प्रहार गरिएको मिसाइल आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ । यससँगै यस्ता आक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । बगदादस्थित अमेरिकी दूतावासमा ड्रोन र रकेट आक्रमण हुँदा परिसरभित्र आगलागी भएको जनाइएको छ ।

युद्धले अन्तर्राष्ट्रिय आयाम लिँदै जाँदा युक्रेनले पनि आफ्नो संलग्नता देखाएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार इरानद्वारा डिजाइन गरिएका ड्रोनविरुद्ध सहयोग गर्न २०० भन्दा बढी युक्रेनी विशेषज्ञहरू मध्यपूर्वका विभिन्न देशमा परिचालन गरिएका छन् ।

इरानभित्र सरकारले राष्ट्रव्यापी र्‍याली आह्वान गरेपछि विभिन्न सहरहरूमा भीड जम्मा भएको छ । फारसी नयाँ वर्ष ‘नौरोज’ को अवसरलाई आन्तरिक एकता प्रदर्शनका रूपमा उपयोग गर्ने प्रयास देखिएको छ ।

अन्तर्राष्ट्रिय राजनीतिक मतभेद पनि देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य सञ्चालनमा सहयोग नगरेको भन्दै नाटो र बेलायतको आलोचना गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरप्रति असन्तुष्टि जनाउँदै उनले सहयोग आवश्यक नरहेको उल्लेख गरेका छन् ।

यसबीच लेबनानमा मानवीय क्षति बढ्दै गएको छ । दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा तीन सैनिक मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च २ देखि सुरु भएको द्वन्द्वमा मृत्यु हुनेको संख्या ९१२ पुगेको छ ।

You may also like