हावाहुरीले बुटवल महामेलामा ठूलो क्षति, बुधबारदेखि कार्यक्रम पुनः सञ्चालन

by समतल अनलाइन
104Shares

बुटवल। सोमबार आएको हावाहुरीसहितको वर्षाले बुटवलमा सञ्चालन भइरहेको महामेलामा क्षति पुर्‍याएको छ। हावाहुरीका कारण मेलास्थलमा निर्माण गरिएका विभिन्न संरचना तथा व्यापारिक स्टलहरूमा क्षति पुगेको मेला संयोजक गोविन्द प्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार हावाहुरीले करिब ४० वटा व्यापारिक स्टल, १२ वटा होटल तथा रेस्टुरेन्ट, लण्डन ब्रिज, स्ट्याचु अफ लिबर्टी, करिब २०० मिटर बाउन्ड्री र कश्मिर हिलमा पूर्ण रूपमा क्षति पुगेको छ भने जलपरी संरचनामा आंशिक क्षति भएको छ। क्षतिको यकिन विवरण भने अझै संकलन भइरहेको भुसालले बताए।

सोमबारका लागि तय गरिएको सांस्कृतिक कार्यक्रम पनि मौसम प्रतिकूलताका कारण स्थगित गरिएको छ। उक्त कार्यक्रममा चर्चित र्यापर माइला, लोकगायक विशाल सोनी, लोकगायिका रितु थापा मगर तथा हास्यकलाकार माइला बाको प्रस्तुति रहने तय गरिएको थियो। मौसमका कारण कार्यक्रम स्थगित गरिएको सांस्कृतिक संयोजक दिपेन्द्र न्यौपानेले बताए।

मंगलबार दिनभर क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा पुनर्निर्माण कार्य गरिने र चैत्र ४ गते बुधबारदेखि नियमित कार्यक्रम सञ्चालन गरिने मेला मूल्यांकन तथा अनुगमन संयोजक दिपु मगरले जानकारी दिए।
महामेला चैत्र २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलाको उद्घाटन आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेका थिए।

You may also like