बुटवल। बुटवल उपमहानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसको अवसरमा बृहत् सरसफाइ अभियान सुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्याल झाडु बोकेर सरसफाइमा सहभागी भएका छन् ।

अभियानको दोस्रो दिन सोमबार योगीकुटीदेखि कालिका विद्यालय क्षेत्रसम्म सडक सरसफाइ गरिएको हो । बिहानैदेखि सुरु गरिएको कार्यक्रममा विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
सरसफाइ अभियानलाई औपचारिकतामा सीमित नगरी निरन्तरता दिनुपर्नेमा जोड दिँदै नगर प्रमुख पाण्डेयले सफा शहर निर्माण सबैको साझा जिम्मेवारी भएको बताए । उपप्रमुख अर्यालले बुटवललाई स्वच्छ, हरियाली र व्यवस्थित शहरका रूपमा विकास गर्ने उपमहानगरपालिकाको लक्ष्य रहेको उल्लेख गरिन् । नियमित सरसफाइ अभियानमार्फत स्वस्थ र आकर्षक शहर निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा उपमहानगरपालिकाका कर्मचारीहरू सरसफाइ अभियानमा सहभागी भएका थिए । यसअघि आइतबार नयाँ बसपार्क क्षेत्रबाट सुरु गरिएको अभियानमा सिद्धार्थ गौतम बुद्ध क्याम्पसका विद्यार्थी सहभागी भएका थिए । उपमहानगरपालिकाले माघ २५ गतेदेखि फागुन २ गतेसम्म विभिन्न स्थानमा सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।



