चुनावपछि संसद् घण्टीमय हुन्छ : रवि लामिछाने

by समतल अनलाइन
57Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आउँदो निर्वाचनपछि गठन हुने संसद् “घण्टीमय” हुने दाबी गरेका छन्।

चुनावी प्रचारप्रसारका क्रममा सोमबार रुपन्देही आइपुगेका लामिछानेले रास्वपाले देशभर क्षमतावान र सक्षम उम्मेदवारहरू अघि सारेकाले आगामी संसद् फरक र प्रभावकारी हुने बताए।

उनका अनुसार अघिल्लो संसद्मा रास्वपाका २१ जना सांसदले जनताको आवाज बुलन्द बनाएका थिए भने यसपटक त्यो प्रभाव अझ व्यापक हुने छ।
“रास्वपाले एक से एक उम्मेदवार मैदानमा उतारेको छ। देशले नचिन्ला, तर हाम्रा उम्मेदवारहरूले देशलाई राम्ररी चिनेका छन्,” उनले भने, “यसपटक संसद्मा जहाँ हेर्‍यो त्यतै घण्टी बजेको सुनिनेछ। त्यसको सुरुवात रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाबाट हुनेछ।”

डा. थापा रास्वपाबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्। लामिछानेले आफू रुपन्देहीमा चुनावी भाषण गर्न वा भोट माग्न नआएको दाबी गरे पनि उनको अभिव्यक्तिमा मतदातालाई भावनात्मक रूपमा आकर्षित गर्ने सन्देश स्पष्ट देखिन्थ्यो।
“यो ठाउँमा मेरो धेरै पसिना बगेको छ, यहाँ मसँग हिसाब मिलाउनुपर्ने धेरै कुरा छन्,” उनले भने, “तर मेरो व्यक्तिगत हिसाबभन्दा पनि देशको हिसाब मिलाउनु आजको आवश्यकता हो। म आज चुनावी भाषण गर्न आएको होइन, भोट माग्न त भोलि पनि आउन सक्छु, आज म मन माग्न आएको हुँ।”

You may also like