पत्रकार भेटघाटमै असहज देखिए रास्वपा उम्मेदवार सुनिल लम्साल

by समतल अनलाइन
67Shares

बुटवल । शनिबार बिहान रुपन्देही बाक्लो हुस्सु र शीतलहरले ढाकिएको थियो। मौसम प्रतिकूल थियो, तर मङ्गलापुरस्थित बोधी भिल्लामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुनिल लम्सालको पत्रकार भेटघाटमा देखिएको माहौल मौसमभन्दा पनि बढी धुम्म र चिसो बन्यो।

‘नयाँ राजनीति’ र ‘परिवर्तन’को नारासहित चुनावी मैदानमा उत्रिएको दल, त्यसमा पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयमा बसेर काम गरेको दाबी गर्ने उम्मेदवार। स्वाभाविक रूपमा पत्रकारहरूमा अपेक्षा थियो—घिसेपिटी भाषणभन्दा बाहिर निस्कने, ठोस योजना र स्पष्ट दृष्टिकोणसहितको प्रस्तुति सुन्न पाइनेछ। तर कार्यक्रम सुरु हुनुअघि नै ती अपेक्षाहरू धरापमा परे।
पत्रकार भेटघाट सुरु हुनै लाग्दा उम्मेदवार लम्सालले क्यामेरा र रेकर्डरमा नबोल्ने भन्दै ‘अफ द रेकर्ड’ छलफलको प्रस्ताव राखे। आफैँ पत्रकार बोलाउने, तर आफ्ना भनाइ अभिलेखमा नराख्ने प्रस्ताव पत्रकारहरूले अस्वीकार गरे। चुनावको मुखमा मत माग्न हिँडेको उम्मेदवारले आफ्ना योजना सार्वजनिक अभिलेखमै नबसोस् भन्ने चाहना देखाउनु आफैँमा गम्भीर प्रश्नको विषय बन्यो।

अफ द रेकर्ड अस्वीकार भएपछि लम्साल क्यामेरासामु त आए, तर उनको प्रस्तुतिले ‘हाई–प्रोफाइल’ उम्मेदवारको दाबीलाई पुष्टि गर्न सकेन। आत्मविश्वास कमजोर देखियो, उत्तरहरू अस्पष्ट थिए, र प्रश्नहरूबाट बच्ने प्रयास स्पष्ट देखिन्थ्यो।

पत्रकारहरूको मूल प्रश्न थियो—“तपाईंको उम्मेदवारी किन ? रुपन्देही–१ को विकासका लागि तपाईंका ठोस योजना के हुन् ?”
तर जवाफमा लम्सालले शिक्षा, स्वास्थ्य र कृषिमा समस्या रहेको सामान्य स्वीकारोक्ति बाहेक समाधानको स्पष्ट खाका दिन सकेनन्। नीति, प्राथमिकता र कार्यान्वयनबारे ठोस धारणा अभाव देखियो।
उनले प्रस्तुत गरेका एजेन्डा र उत्तरहरू दशकौँदेखि नेपाली राजनीतिमा दोहोरिँदै आएका अमूर्त नाराभन्दा फरक देखिएनन्। बरु उनले पटक–पटक एउटै कुरा दोहोर्‍याइरहे—“म बालेन साहको सचिवालयमा बसेर काम गरेको मान्छे हुँ।”
यो दोहोर्‍याइले उम्मेदवारको व्यक्तिगत क्षमता र क्षेत्रीय दृष्टिकोणभन्दा ‘ब्रान्ड नेम’मै निर्भर राजनीति झल्कियो।
यसपछि पत्रकारहरूले रास्वपाको सुशासन र नेतृत्वसँग जोडिएका गम्भीर प्रश्न उठाए।

बालेन साहले विवादित व्यापारी कमल किशोर मालपानीको गाडी प्रयोग गरेको विषय, संघीयताको विरोधी अभिव्यक्ति दिएपछि अहिले संघीयता बलियो बनाउनुपर्ने भनाइ—यी सबै प्रश्नहरू ‘नयाँ राजनीति’को व्यवहारिक परीक्षण थिए।
तर यी प्रश्नहरूमा लम्सालले स्पष्ट र जिम्मेवार जवाफ दिनुको सट्टा ‘पार्टीको विधान हेर्नुस्’ वा ‘उहाँ सुशासनकै पक्षमा हुनुहुन्छ’ जस्ता टालटुले उत्तर दिए। प्रश्नको गहिराइसँग मेल नखाने यी जवाफले उम्मेदवारको तयारी र राजनीतिक स्पष्टतामाथि थप शंका जन्मायो।

थप प्रश्नहरू आउन थालेपछि लम्सालले कार्यक्रम समाप्त भएको घोषणा गर्दै अचानक हल छोडे। पत्रकार भेटघाटमा प्रश्नबाट भागेर बाहिरिनु आफैँमा अस्वाभाविक मात्र होइन, जनउत्तरदायी राजनीतिप्रति गैरजिम्मेवार व्यवहारका रूपमा लिइयो।
उम्मेदवार बाहिरिएपछि पनि पत्रकारहरूले थप प्रतिक्रिया लिन खोज्दा ‘अहिले बोल्न मिल्दैन’ भन्दै पन्छिने प्रवृत्तिले असहजता झनै बढायो।

यसैबीच उम्मेदवारका राजनीतिक सल्लाहकार भनिएका आशिस सुवेदीले पत्रकारहरूलाई “तपाईंहरू पुरानो माइन्डसेटबाट निर्देशित हुनुहुन्छ” भन्दै टिप्पणी गरे। तर प्रश्न सोध्नु नै पुरानो सोच ठहरिनु र प्रश्नबाट भाग्नु नयाँ राजनीति ठानिनु हो भने, रास्वपाले दाबी गरेको ‘परिवर्तन’को अर्थ नै पुनः परिभाषित गर्नुपर्ने देखिन्छ।
आफैँले बोलाएर पत्रकारलाई बोलचालमा सहभागी गराउने र आलोचनात्मक प्रश्न आएपछि पत्रकारमाथि नै आरोप थोपर्ने प्रवृत्तिले नयाँ राजनीतिक संस्कृतिको दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
केहीबेर तनावपूर्ण अवस्था बनेपछि रास्वपा जिल्ला सचिवालय सदस्य मधु अर्यालले हस्तक्षेप गरी माहौल शान्त पार्ने प्रयास गरे।
‘जान्नेलाई छान्ने’ नारा दिएर चुनावमा होमिएको दलका उम्मेदवार नै प्रश्नबाट पन्छिन खोज्नु सामान्य घटना होइन। नयाँ राजनीतिको दाबी केवल अनुहार, प्रचार र सामाजिक सञ्जालको लोकप्रियताले पूरा हुँदैन। स्पष्ट दृष्टिकोण, आलोचना सहने क्षमता र सार्वजनिक जवाफदेहिता नयाँ राजनीतिको आधार हो।

तर, उक्त पत्रकार भेटघाटमा देखिएको प्रस्तुतिले रास्वपाका उम्मेदवार र उनको सचिवालयको अपरिपक्वता, असहजता र तयारीको अभाव उजागर गरेको छ। ‘नयाँ राजनीति’को दाबी गर्नेहरूका लागि यो घटना केवल एउटा असफल कार्यक्रम होइन, विश्वासको परीक्षा हो—जसमा उनीहरू चुकेका देखिएका छन्।

You may also like