काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ मा नेपालले आज पहिलो खेल खेल्दैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको उद्घाटन खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो।
यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमार्फत पहिलोपटक विश्वकप खेल्ने अवसर पाएको थियो। त्यसपछि दोस्रोपटक विश्वकपमा पुग्न नेपाललाई १० वर्ष कुर्नुपर्यो। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको उत्कृष्ट प्रदर्शनपछि नेपाल विश्व क्रिकेटमा थप चर्चामा आएको थियो। दक्षिण अफ्रिकासँग नेपाल केवल एक रनले पराजित भएको थियो।
यसअघि दुई पटक विश्वकप खेले पनि नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। यो विश्वकप पनि नेपाल रोहितकुमार पौडेलको कप्तानीमा खेल्दैछ। सोमपाल कामी तीन पटक टी–२० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखेडे रंगशालामै हुनेछन्।
समूह ‘सी’ मा कठिन चुनौती
नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठ चरणमा पुग्ने व्यवस्था छ। यो समूहलाई प्रतियोगिताकै सबैभन्दा कठिन समूहका रूपमा हेरिएको छ।
बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी र्याङ्किङका आधारमा स्कटल्यान्डले सहभागिताको अवसर पाएको हो।
वामअप खेलमा नेपालको आत्मविश्वास
दुई वामअप खेलमा नेपालले प्रभावशाली ब्याटिङ प्रदर्शन गरेको छ। यूएईविरुद्ध चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरेका थिए। आरिफले ३७ बलमा अविजित ६१ रन र दीपेन्द्रले ३१ बलमा नटआउट ५० रन बनाए। १४६ रनको लक्ष्य नेपालले १७ ओभरमै सात विकेटले पूरा गरेको थियो।
क्यानडाविरुद्धको दोस्रो वामअप खेलमा नेपालले ६ विकेटको जित निकाल्यो। ओपनर आसिफ शेखले अर्धशतक बनाउँदा सन्दीप जोराले ४४ र गुल्सन झाले ३१ रनको योगदान दिए। १६२ रनको लक्ष्य नेपालले १२ बल बाँकी रहँदै पूरा गरेको थियो।
इंग्ल्यान्डविरुद्ध ऐतिहासिक खेल
नेपाल र इंग्ल्यान्डबीच यो पहिलो टी–२० अन्तर्राष्ट्रिय भेट हो। नेपालले यसअघि वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिज खेलेको भए पनि इंग्ल्यान्डसँग भने कहिल्यै प्रतिस्पर्धा गरेको थिएन। त्यसैले आजको खेल नेपाली क्रिकेट इतिहासमा विशेष महत्त्वको मानिएको छ।
विश्व विजेता इंग्ल्यान्डको चुनौती
इंग्ल्यान्ड टी–२० क्रिकेटको बलियो टोली मानिन्छ। उसले सन् २०१० र २०२२ मा आईसीसी टी–२० विश्वकपको उपाधि जितिसकेको छ। अनुभवी र आक्रामक खेलाडीहरू रहेको इंग्ल्यान्ड टोली नेपालका लागि ठूलो चुनौती हुनेछ।
इंग्ल्यान्ड टोलीमा जोस बटलर, फिल साल्ट, बेन डकेट, विल ज्याक्सजस्ता अनुभवी ब्याट्सम्यान छन्। तीव्र गतिका बलर जोफ्रा आर्चर र स्पिनर आदिल राशिद इंग्ल्यान्डको बलिङ आक्रमणका मुख्य हतियार हुन्।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।



