पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी: “देश नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ”

by समतल अनलाइन
84Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले गम्भीर संकट भोग्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै उनले हिजो देश नबनेकोमा चिन्ता रहे पनि अहिले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका हुन्।

उनले भने, “नारायणहिटी दरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ। हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।”

पूर्वराजा शाहले भाषण, जादू वा चमत्कारले देश नबन्ने स्पष्ट पारे। सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने उनको भनाइ छ।

“भाषण, जादू र चमत्कारले यो देश बनेको होइन, र बन्दैन पनि। सबै नेपालीले कर्तव्यबोध गर्दै पृथ्वीपथमा लाग्नुपर्छ,” उनले आह्वान गरे।
झण्डै दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्व दिने प्रतिबद्धतासहित सत्तामा पुगेका दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासोका रूपमा सुरक्षित निकायमा बुझाई राजकाजबाट बाहिरिएको उनले स्मरण गराए।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहको योगदानको प्रशंसा गर्दै आधुनिक नेपाललाई चार वर्ण ३६ जातको साझा फूलबारीका रूपमा परिकल्पना गरिएको उल्लेख गरे। उनले नेपाल राजा मात्रको नभई जनता र राजाको समान स्वामित्वको देश भएको सन्देश पृथ्वीनारायण शाहले दिएको बताए।

उनका अनुसार सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्थाले जनताप्रतिको जिम्मेवारीबाट पछि हट्न नसक्ने स्पष्ट धारणा छ।

You may also like